Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


सम्भावित मन्त्रीको सूची बनाउने तयारीमा गठबन्धन दलहरू


1.4k
Shares

काठमाडौं । सात दलीय सत्ता गठबन्धनमा आबद्ध दलहरूले मन्त्रीमण्डलमा पठाउने सम्भावित सांसदहरूको सूची तयार पार्न थालेका छन् ।

सोमबार ७ मन्त्रीसहित शपथ लिएका नव नियुक्त प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछानेलगायत नेताहरूले पार्टीबाट क–कसलाई मन्त्री बनाउने भन्ने गृहकार्य थालेका हुन् ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच सोमबार भएको भागबण्डाबारे सामान्य छलफलमा नेताहरूले मन्त्रालय दाबी गर्दा एमालेले १० देखि ११, माओवादी केन्द्रले ५ देखि ७ रास्वपाले ५, राप्रपाले ३, जनमत र नागरिक उन्मुक्तिले २र २ मन्त्रालयको दाबी गरेका थिए । तर, मंगलबारसम्मको सूचनाअनुसार राप्रपा र जसपा सरकारमा नजाने बुझिएकाले बाँकी दलहरूलाई बढी संख्यामा मन्त्रालय भाग पर्ने नेताहरूको भनाइ छ ।

यद्यपि, राप्रपा सरकारमा जाने वा नजाने भन्ने टुंगो बुधबार मात्र लाग्ने जानकारी दिँदै राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले भन्नुभयो, ‘अहिले हामीले राजनीतिक स्थिरताका लागि सरकारलाई समर्थन मात्रै गरेका हौं । सरकारमा सहभागिताको कुरा पार्टीको बुधबार बस्ने बैठकले निर्णय गर्छ । सरकारमा जाँदा हाम्रा एजेन्डाहरू कसरी लाने र नजाँदा सरकारलाई समर्थनसहित कसरी खबरदारी गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको छ ।’

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।