बझाङ । जयपृथ्वी नगरपालिका–८ का असिम विक कक्षा २ मा पढ्छन् । गाउँनजिकैको जालपा आधारभूत विद्यालयमा अध्ययनरत विकसँगै अन्य १४ बालबालिका एउटै कक्षा कोठामा मिलेर लेखपढ गर्छन् । १५ मध्ये अन्य गैरदलित बालबालिका हुन् । दलित समुदायका बालक असिम मात्रै हुन् ।
त्यसो त, कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा कुल ८८ बालबालिका छन् । जसमध्ये ३२ बालबालिका दलित समुदायका र ५६ गैरदलित समुदायका छन् । विद्यालयमा एक कार्यालय सहयोगीबाहेक अन्य ७ शिक्षकशिक्षिका छन् । कक्षा कोठामा खेल्दा, बस्दा साथीसँगै हुने असिम विद्यालयबाट पाइने खाजा खाँदा भने एक्लै हुन्छन् । उनको कक्षा कोठाका सबै साथी नास्ता खान घर पुग्छन् ।
उनी भने विद्यालयबाट खाजा खान घर जाँदैनन् । विश्व खाद्य कार्यक्रमको सहयोगमा सो विद्यालयमा ‘विद्यालय दिवा खाजा कार्यक्रम, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम, प्रारम्भिक तह पढाइ कार्यक्रम र स्थानीय उत्पादनमा आधारित दिवाखाजा कार्यक्रम’ लागू छन् । यी कार्यक्रमअन्तर्गत आवश्यक पोष्टिक आहार सन्तुलन मिलाई खाजा पकाइन्छ । असिम यहीँ खाजा खान्छन् ।
तर, उनको कक्षाकोठाका साथी घर जान्छन् । असिम प्रतिनिधि पात्र मात्रै हुन् । उनीसँग खाजा खाने अन्य दलित समुदायका बालबालिका मात्रै हुन्छन् । गैरदलित समुदायका भने कोही घर जाने र कोही विद्यालयमै खाजा ल्याएर खाने गरेका छन् । कार्यालय सहयोगी दलित समुदायको भएका कारण ‘आफूहरूले विद्यालयमा खाजा नखाने गरेको’ गैरदलित समुदायका बालबालिका स्वीकार्छन् ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।









प्रतिक्रिया दिनुहोस्