Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


‘नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण विश्वका लागि मोडल’


0
Shares

काठमाडौं, भदौ १० । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला उपसहायक मन्त्री एलिस जी वेल्सले भेट गरेकी छन् ।

दाहाल निवास खुमलटारमा आइतबार भएको भेटमा नेपालको आर्थिक समृद्धिमा अमेरिकी सहयोग र समर्थनबारे चर्चा भएको थियो ।

सो अवसरमा अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रिया, गणतन्त्रको घोषणा र संविधान निर्माण हुँदै त्यसको सफल कार्यान्वयनमा अमेरिकी जनता र सरकारको सद्भावका लागि धन्यवाद प्रकट गरेका थिए ।

उनले ७० वर्षदेखिको राजनैतिक अस्थिरता अन्त्य गरी स्थिरता कायम गरेको बताउँदै अब आफूहरु आर्थिक समृद्धिमा लागेको स्पष्ट पारेका थिए ।

भौतिक पूर्वाधारको निर्माण, पर्यटन क्षेत्रको विकास, जलविद्युत उत्पादन र कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक रहने अध्यक्ष दाहालको भनाइ थियो । उनले त्यसका लागि लगानीको सुरक्षा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । ‘नेपालमा हुन लागेको बिमस्टेक सम्मेलन आर्थिक विकासका लागि सहयोगी  सिद्ध हुनेछ,’ उनले भने ।

उनले शान्ति, समृद्धि र लोकतन्त्रप्रति आफूहरु पूर्णप्रतिवद्ध रहेको बताउँदै संसारमा स्थापित लोकतन्त्रको मान्यता अनुसरण गरिएको बताए ।

भेटका अवसरमा मन्त्री वेल्सले नेपालको राजनीतिक स्थायित्वमा महत्वपूर्ण योगदान रहेको भन्दै दाहालको प्रशंसा गरेकी थिइन् । उनले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण विश्वका लागि मोडल भएको बताइन् ।

नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्ध राम्रो रहेको मन्त्री वेल्सको धारणा थियो । उनले वर्तमान सरकार नेपालको आर्थिक समृद्धिका लागि गतिलो आधार भएको बताइन् ।

उनले साइबर सुरक्षा र प्रकोप नियन्त्रणमा आफूहरु सहयोग गर्न इच्छुक रहेको बताइन् ।

‘नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न देश हो,’ उनले भनिन्, ‘यहाँ धेरै सम्भावनाहरु रहेका छन् ।’