काठमाडौं । अर्जेन्टिना च्याम्पियन भएसँगै महान् खेलाडी मध्ये एक लियोनेल मेसीले विश्वकप जित्ने सपना पूरा गरेका छन्। दोहास्थित लुसेल रंगशालामा आइतबार भएको फाइनल खेलमा फ्रान्सलाई पेनाल्टी सुटमा ४-२ ले हराएर अर्जेन्टिनाले उपाधि जितेको हो। यो अर्जेन्टिनाको ३६ वर्षपछिको विश्वकप उपाधि समेत हो।
पेनाल्टी सुटआउटमा अर्जेन्टिनाबाट लगातार ४ गोल भयो भने फ्रान्सबाट ४ प्रहारमा २ मात्र गोल भएको थियो।योसँगै मेसीले गत २०१४ मा भएको विश्वकप फाइनल हार्नुको तीतो स्वादलाई अहिले मीठो पनि बनाए। यसले उनको यो अन्तिम विश्वकपलाई अविस्मरणीय समेत बनाएको छ। मेसीले विश्वकपमा २००६ देखि खेलेका हुन्। ५ वटा विश्वकप खेलेका मेसीले कुल १३ गोल गरेका छन्। उनी विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी समेत हुन्। पछिल्लो पटक सन् १९८६ मा यो नीलो सेता धर्के जर्सीको टोलीले उपाधि जितेको थियो।
यस बेला उपाधि दिलाउन महान् खेलाडी डिएगो म्याराडोनाको ठूलै योगदान थियो। म्याराडोनाकै जादुमय खेलमा अर्जेन्टिनाले उपाधि दाबेदारी तत्कालीन पश्चिम जर्मनीलाई हराएको थियो। अर्जेन्टिनाले पहिलोपटक विश्वकप उपाधि सन् १९७८ मा जितेको थियो। यसै गरी अर्जेन्टिनाले पछिल्ला लगातार चार विश्वकपमा युरोपको दबदबा रहेको वर्चश्व पनि तोडेको छ। २००२ पछि दक्षिण अमेरिकी महादेशको टोलीले विश्वकपमा फेरि धाक जमाएको छ। २००२ को विश्वकप एसियामा भएको थियो। उक्त विश्वकपको उपाधि ब्राजिलले जितेको थियो।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।









प्रतिक्रिया दिनुहोस्