Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


पचासी प्रतिशत सवारीमा प्रदूषण समस्या


65
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित सवारीसाधनमध्ये ८५ प्रतिशतले वातावरणीय प्रदूषण मापदण्ड पूरा गरेका छैनन् ।

हरियो स्टिकर टाँस्ने तर चेकजाँच गर्दा मापदण्ड पूरा नहुने अवस्था देखिएपछि वातावरण विभागले नियमित अनुगमनलाई तीव्रता दिएको छ । अनुगमन शुक्रबारदेखि सुरु गरिएको छ ।

वातावरणीय मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई एक लाख रुपैयाँसम्म जरिवाना लाग्ने कानुनी व्यवस्था छ । विभागका महानिर्देशक नमराज घिमिरेले भन्नुभयो, “प्रदूषण परीक्षणमा ८५ प्रतिशतले पास गर्न सकेका छैनन्, हामी स्टिकर हेर्दैनौँ, गाडीको धुवाँ नै परीक्षण गर्छौं, कडाइका साथ जान्छौँ, कारबाही गर्छौं ।” गाडीको धुवाँले वातावरणलाई निकै प्रदूषण मात्र गरेको छैन, नियम, कानुन पनि उल्लंघन भएको उहाँको भनाइ छ ।

विभागले गत मंसिर २२ गते सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ भएको दाबी गरेको थियो । प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह पनि गरेको थियो । काठमाडौँ उपत्यकामा चलेका सवारीसाधनबाट निस्कने धुवाँ मापदण्डभन्दा बाहिर देखिएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।