काठमाडौं । संघीय संसद सचिवालयले निर्वाचन आयोगसँग नवनिर्वाचित जेष्ठ सांसदको जन्म मिति खुल्ने कागजातसहितको विवरण माग गरेको छ ।
बिहीबार आयोगले सचिवालयमा बुझाएको नवनिर्वाचित सांसदहरुमध्ये जेष्ठ सदस्य को हो भन्नेमा स्पष्ट उमेर नखुलेको भन्दै उमेर खुलाएर पठाउन आयोगलाई पत्राचार गरिएको सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।
सभामुखको निर्वाचन हुनुअघि जेष्ठ सदस्यले बैठक चलाउनुपर्ने भएकाले आयोगसँग सांसदको आधिकारिक उमेर खुल्ने कागजात सहितको विवरण मागिएको सचिवालयले जनाएको छ ।
आयोगले उक्त विवरण पठाएपछि मात्र सपथ ग्रहणको कार्यक्रम राख्ने सचिवालयको तयारी छ । संसदको अध्यक्षता गर्ने जेष्ठ सांसदको पहिचान खुलेपछि राजनीतिक दलसँग समन्वय गरेर सपथ गराउने दिनको तय गर्ने सहप्रवक्ता धमलाले जानकारी दिनुभयो ।
त्यअघि संसदको जेष्ठ सदस्यले राष्ट्रपतिसँग सपथ गर्नुपर्ने भएकोले त्यसको व्यवस्थापन राष्ट्रपति कार्यालयले गर्ने छ ।




प्रतिक्रिया दिनुहोस्