Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


कांग्रेस नेतृत्व असक्षम छ भन्ने थप पुष्टी भयो: नेता सिंह


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महासमितिको बैठक पूर्वघोषित मितिभन्दा तीन महिना पछि सार्ने निर्णय गलत भएको बताएका छन् ।

यसबाट पार्टी नेतृत्व असक्षम छ भन्ने थप पुष्टी भएको उनले बताए । कांग्रेसको केन्द्रीय समितिको शनिबारको बैठकले भदौमा हुने भनिएको महासमिति बैठक मंसिरमा गर्ने निर्णय गरेको थियो ।

यसअघि सभापति शेरबहादुर देउवाले नै भदौमा महासमिति बैठक गराउने घोषणा गरेका थिए ।

आइतबार स्वर्गीय मंगलादेबी सिंहको २२ औं स्मृति दिवसको अवसमा शोभा भगवतीमा आयोजित माल्यार्पण कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले भने, ‘हिजोको निर्णयबाट विगतमा कांग्रेसको जुन छवि थियो, त्यो छविमा ह्रास आएको छ । यसबाट लिडरसीपमा पार्टीलाई सहमतिका र समझदारीका साथ अगाडि बढाउन नसक्ने कमजोरी भएको स्पष्ट हुन्छ ।’

उनले भने, ‘डेट दिने र त्यसलाई सार्दै काम भयो । वर्तमान कांग्रेसको नेतृत्व सम्हालेका पार्टी सभापति लगायतका नेताहरुबाट कांग्रेसको विगतको इतिहासमा कहिल्यै नभएको कुराहरु भयो । यसलाई विशेषरुपमा नेतृत्वकै कमजोरीको रुपमा हामी लिन्छौं ।’

उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले महासमिति बैठकको मिति सार्ने बहुमतको निर्णयलाई भने आफूहरुले स्वीकारेको बताए । तर, यस्ता निर्णयको जनताले मूल्यांकन गरिरहेको उनले बताए ।

उनले भने, ‘डेमोक्रेटिक पार्टी हो, बहुमतको डिसिजनलाई हामी मान्छौं । तर पब्लिकले पनि त जजमेन्ट गरिरहेको हुन्छ नि त । आम जनताले के भनिरहेको छ त भन्दाखेरि कांग्रेस, पहिलाको कांग्रेस रहेन अब ।’

उनले कांग्रेसलाई सुधार्न पार्टीभित्र ठूलै अभियान सुरु भइसकेको दाबीसमेत गरे । त्यसको प्रतिफल छिट्टै आउने पनि उनले बताए ।

कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले भने, ‘पार्टीलाई विधिसम्मत चलाउनका लागि पार्टीभित्र ठूलै अभियान अगाडि बढिसकेको छ । आउँदा दिनमा सबैले त्यसको प्रतिफल देख्नुहुन्छ ।’