Logo ५ मंसिर २०८२, शुक्रबार | Sat Nov 22 2025


न्यायपालिकाको बागडोर सम्हाले न्यायाधीश कार्की


455
Shares

काठमाडाैं । बुधबारदेखि न्यायपालिकाको बागडोर न्यायाधीश हरिकृष्ण कार्कीले सम्हालेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाएसँगै सर्वोच्च अदालतको नेतृत्व न्यायाधीश हरिकृष्ण कार्कीले सम्हाल्नुभएको छ । उहाँले आजदेखि औपचारिक रुपमै न्यायालयको नेतृत्व सुरु गर्नुभएको हो ।

गत वर्षको फागुन १ गते संसदमा आफूविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा पर्नुभएको थियो । फागुन १ गते जबरामाथि महाभियोगको प्रस्ताव दर्ता भएसँगै वरिष्ठतम न्यायाधीश दीपक कुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

२०७८ फागुन १ गतेदेखि २०७९ असोज १५ गतेसम्म कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्की कामु प्रधानन्यायाधीशबाटै अवकाश पाउनुभयो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अनिवार्य अवकाशपछि असोज १६ गतेदेखि हरिकृष्ण कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएको हो ।

तत्कालीन समयमा प्रधानन्यायाधीश जबरामाथि महाभियोगको प्रस्ताव दर्ता भएर निलम्बनमा परेको कारण कामु प्रधानन्यायाधीश भएर न्यायालयको जिम्मेवारी सम्हाले पनि बुधबारबाट प्रधानन्यायाधीश जबराको उमेर हदका कारण कार्यकाल सकिएको छ । यसअघि अनौपचारिक रूपमा न्यायपालिकाको बागडोर सम्हालेका कार्कीले जबराको कार्यकाल सकिएपछि औपचारिक रूपमा न्यायपालिकाको नेतृत्व गर्नुभएको छ ।

आजदेखि औपचारिक रुपमै न्यायपालिकाको बागडोर सम्हाले पनि संसदीय सुनुवाइबाट अनुमोदन नभएसम्म कार्कीसमेत कामु प्रधानन्यायाधीश नै रहनुहुनेछ । कामु प्रधानन्यायाधीश बनेको करिब ५ महिनापछि मात्रै कार्की पूर्ण प्रधानन्यायाधीश बन्ने बाटो खुला हुने छ ।

निलम्बनमा रहेका जबराले उमेर हदका कारण अवकाश पाएपनि उहाँलाई पूर्ण प्रधानन्यायाधीश बन्न संसदीय सुनुवाइ समितिले अनुमोदन गर्नुपर्नेछ । तर संसदीय सुनुवाइ समितिबाट अनुमोदन भई पूर्ण प्रधानन्यायाधीश बन्न भने अझै केही समय लाग्ने छ । भर्खरै नयाँ संसद् आएको र सांसदले पदको शपथ समेत नलिएको अवस्थामा प्रतिनिधिसभा निष्क्रिय रहेको छ ।