Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


वामपन्थीहरू सरकारबाहिर !


27.1k
Shares

काठमाडौं । सरकारले ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९’ ल्याएपछि सत्ता गठबन्धन फुट्ने सम्भावना देखिएको छ । गठबन्धन दलहरूका लागि सरकार गठनमा बहुमत नपुग्ने र नेपाली कांग्रेसले साना दलहरूलाई समेटेर वामपन्थीहरूलाई बाहिर राखी सरकार गठन गर्न सक्ने अंक गणित बनेपछि गठबन्धन टुट्ने सम्भावना रहेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच वर्षे सरकारको आधाआधा कार्यकालमा आफू सुरुका दुई वर्ष प्रधानमन्त्री बन्न पाउनुपर्ने प्रस्ताव गरेपछि कांग्रेसकै योजनामा यो अध्यादेश आएको हो । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई लक्षित गरी सरकारले अध्यादेश ल्याएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार रेशम चौधरी छुट्नेछन् ।

त्यसपछि सरकार गठनको प्रक्रिया सुरु भए कांग्रेसकै नेतृत्वमा गैरवामपन्थीहरूलाई समेटेर सरकार बनाउने प्रक्रिया सुरु हुन सक्ने सम्भावना छ । जसअनुसार कांग्रेसका ८९, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १४, जनता समाजवादीको पार्टी (जसपा) का १२, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ४, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ३ गर्दा १४८ सिट हुनेछ । सरकार बनाउन १३८ सिट आवश्यक हुन्छ।

यस अर्थमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), राष्ट्रिय जनमोर्चा तथा केही स्वतन्त्र सांसदलाई छाडेर पनि कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि सहज बहुमत पुग्नेछ । दाहालले सरकारको साँचो माओवादी केन्द्रको हातमा रहेको बताएकै दिन सरकारले विद्रोही पक्षलाई आम माफी दिने गरी अध्यादेश ल्याएको र त्यसलाई जारी गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको हो । यसैगरी कांग्रेसले चाहे माओवादी केन्द्र र रास्वपालाई बाहिर राखेर पनि सरकार बनाउन सक्ने देखिएको छ । त्यस्तो अवस्थामा कांग्रेसले सत्ता गठबन्धन दलहरूमध्येकै एक घटक नेकपा एसलाई सरकारमा सहभागी गराउनुपर्नेछ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।