काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कन्चनपुर घटनाका दोसीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
घटनाका बिषयमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानआकर्षण गर्न आएका नेकपाका तर्फबाट कैलाली र कञ्चनपुरका सांसद र तथा नेकपाका केन्द्रीय सदस्यहरुसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।
ओलीले घटनालाई सरकारले गम्भिर रुपमा लिएकोले छानविन समिती गठन गरेर काम अघि बढाएको बताए ।
“यस घटनाको आवरणमा हिंसा भड्काउने प्रयास भएका छन् । यसमा सरकार गम्भिर छ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ “यस्ता व्यक्तिहरुको पहिचन गरी कारबाही गर्न र स्थितीलाई सहज बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ ।”
घटनामा आशंका गरिएका व्यक्तिहरुलाई अनुसन्धानको घेरामा ल्याउन र दोषी भए कडा कानुनी कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन छ ।
उनले आन्दोलनको बहानामा व्यक्तिगत र सार्वजनिक सम्पतीको तोडफोड गर्नेलाई कानुन बमोजिम कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
‘बालिकाको बलात्कार गरी हत्या गर्ने,आन्दोलनका नाममा तोडफोड गर्ने र हिंसा मच्चाउने सबैलाई कारबाही हुन्छ । यसमा सरकारले कुनै कसर बाँकी राख्दैन ।”
ओलीले घटनालाई राजनीतिकरण गर्नेहरुबाट सजग हुन आग्रह गरेका छन् ।
नेकपाका स्थायी समिति सदस्य भिम रावलको नेतृत्वको टोलीले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई आज बालुवाटारमा भेटेर घटनाको बारेमा जानकारी गराउदै दोषी पत्ता लगाउन र कारबाही गर्न माग गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्