Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


मोहम्मद हत्या छानबिनमा ‘आइबी’को अवरोध


143
Shares

काठमाडौं । काठमाडौंको गोठाटारमा ५८ वर्षीय लाल मोहम्मद (मोहम्मद दर्जी) को हत्यासम्बन्धी घटनाको अनुसन्धानमा भारतीय इन्टेलिजेन्स ब्युरो (आइबी) ले चासो देखाएको छ। भारतीय नक्कली नोटको अनुसन्धान तथा आतंकवादी समूहहरूको अनुसन्धानमा क्रियाशील आइबीले मोहम्मद हत्या प्रकरणको अनुसन्धानमा पनि चासो देखाएको नेपाल प्रहरीको उच्च स्रोतले जनाएको छ।

हत्याका मुख्य योजनाकार भारतका बब्लु पासवान रहेको खुले पनि नेपाल प्रहरीले उनलाई पक्राउ गर्न नसक्नुको प्रमुख कारण आइबीको चासो र भारतीय प्रहरीको असहयोग रहेको स्रोतको दाबी छ। बिहार रक्सौलका पासवान मोहम्मद हत्याका मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानमा खुलेको छ। तर भारतीय पक्षले पासवानलाई पक्राउ गर्न मात्रै होइन, घटनाको थप अनुसन्धान अघि बढाउन पनि अवरोध गरिरहेको छ। मोहम्मद हत्या घटनाको अनुसन्धानमा आइबीले अनावश्यक चासो दिएपछि नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले अवरोध नगर्न आग्रह गरेको स्रोतले बतायो।

‘लाल मोहम्मद हत्या घटनामा थप अनुसन्धान गर्न भारतीय इन्टेलिजेन्स ब्युरोले अवरोध गरेपछि महानिरीक्षक धिरजप्रताप सिंह आफैंले दिल्लीस्थित ब्युरोका अधिकारीसँग कुरा गरेर अनुसन्धानको घेरामा रहेका बब्लु पासवानलाई नेपाल पठाइदिन आग्रह गरेका छन्,’ प्रहरीका एक उच्च अधिकारीले भने। यसमा भारतको स्थानीय प्रशासन र प्रहरी प्रशासनले असहयोग गरेको स्रोतको दाबी छ। मोहम्मद हत्या प्रकरणमा अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईको संयोजकत्वमा एउटा समिति गठन भएको थियो। समितिले मंसिर २ मा सरकारी वकिल कार्यालयमा अभियोगपत्र बुझाइसकेको छ। घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका केही व्यक्तिलाई पुर्पक्ष थुनामा राखिएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।