Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


प्रतिबन्धित वस्तुको आयात फुकुवा


91
Shares

काठमाडौं । विदेशी मुद्रा सञ्चितिमा चाप परेका कारण सरकारले केही विलासी वस्तुमा लगाएको आयात प्रतिबन्ध फुकुवा गरेको छ। विदेशी मुद्राको सञ्चितिमा सुधार आएपछि मंगलबारको मन्त्रिपरिषद् बैठकले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। सरकारले गत बैशाखमा ती वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूका अनुसार आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय मंसिर २९ गतेबाट लागू हुन्छ।

मुख्यसचिव शंकरदास बैरागी संयोजकत्वमा गठित कमिटीले आयातमा गरिएको बन्देज खुलाउन सिफारिस गरेसँगै खुलाउने निर्णय भएको हो। आयात प्रतिबन्ध खुल्ला गर्न हुनेरनहुने विषयमा सरकारले वैरागीको संयोजकत्वमा कार्यदल बनाएर अध्ययन गरेको थियो। अध्ययनमा विदेशी मुद्राको सञ्चिति बढिरहेकाले प्रतिबन्धलाई निरन्तरता दिइरहनु नपर्ने सिफारिस गरेको थियो। निजी क्षेत्र र विश्व बैंकले समेत आयात प्रतिबन्ध खुला गर्न सुझाव दिएका थिए।

विदेशी मुद्राको सञ्चितिले आयात धान्न कठिन हुने भएपछि सरकारले गत बैशाखदेखि १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। अन्य ६ वस्तुको आयात खुला गरेको भए पनि निजी चार पांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयात प्रतिबन्धलाई अहिलेसम्म निरन्तरता दिएको थियो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।