Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


स्वर सम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस


156
Shares

काठमाडौं । आज सोमबार स्वर सम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस मनाइँदैछ ।

नेपाली आधुनिक गीत संगीतको दुनियाँमा अद्भूत छाप छाड्न सफल नारायण गोपालको वि.सं. २०४७ साल मंसिर १९ गते निधन भएको थियो ।

वि.सं. १९९६ सालको असोज १८ गते काठमाडौंको किलागलमा जन्मिनु भएका नारायण गोपालको ५१ वर्षकै उमेरमा निधन भएको थियो ।

नारायण गोपालले नेपाली आधुनिक संगीतको सिर्जनशील–युगको एकक्षत्र नेतृत्व गर्नुभएको थियो । साथै सुगम–संगीतको पाठशाला निर्माणमा पनि उहाँकै देन रहेको छ ।

आफ्नो जीवनकालमा सयौं गीत गाउनु भएका नारायण गोपालका सबै गीत उत्तिकै कर्णप्रिय र कालजयी छन् ।

नारायणगोपालले ‘एउटा मान्छेको मायाले कति’, दुईटा फूल देउरालीमा’, ’पोखिएर घामको झुल्का’, ‘पर्खी बसेँ आउला भनी’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘मेरो बेहोसी आज’, मेरो आँखालाई राख्ने’, ‘श्रद्धाको फूल चढाइदिनु’, ‘स्वर्गकी रानी मायाकी खानी’, ’ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’ लगायत कालजयी गीत गाउनु भएको छ ।

गोरखा दक्षिण बाहु, चौथो, इन्द्रराज्यलक्ष्मी प्रज्ञा, छिन्नलता, जगदम्बाश्रीलगायत प्रतिष्ठित पुरस्कार पाएका उहाँलाई २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट, तेस्रो प्रदान गरिएको थियो ।

स्मृति दिवसको अवसरमा नेपाल संगीत प्रज्ञा प्रतिष्ठान तथा नारायण गोपाल संगीत विद्यालयलगायत संघ संस्थाले विभिन्न कार्यक्रमहरु गर्दैछन् ।