२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सत्ता गठबन्धनले नै नयाँ सरकार बनाउने संकेत


22.126k
Shares

काठमाडौं । आगामी सरकार गठबन्धन दलहरूकै सहमतिअनुसार बन्ने संकेत देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बालुवाटारमा छलफल हुनुले आगामी सरकार सत्ता गठबन्धनले नै बनाउने बलियो सम्भावना देखिएको हो ।

प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द परियारका अनुसार छलफलमा गठबन्धनको सहकार्यलाई निरन्तरता दिने बारेमा कुराकानी भएको छ । परियारले भन्नुभयो– ‘गठबन्धनका दलहरूको औपचारिक बैठक छिट्टै बोलाउने र गठबन्धनलाई कायम राख्ने विषयमा छलफल भएको छ ।’ प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका अध्यक्ष दाहालले दुई दिनअघि पनि भेट गर्नुभएको थियो ।

उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो पक्षमा नेताहरूलाई ल्याउने कसरत थाल्नुभएको छ । तर, उक्त कसरत सफल हुने सम्भावना न्यून रहेको नेपाली कांग्रेसका एक नेताले बताए ।

कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल एमाले नेतृत्वको गठबनधनबीच भएको चुनावी प्रतिस्पर्धाको अन्तिम नतिजा आउने क्रम जारी छ । हालसम्मको अवस्था हेर्दा सबैभन्दा ठूलो दल कांग्रेससहित सत्ता गठबन्धनको बहुमत आउने देखिन्छ । नेकपा एमाले दोस्रो ठूलो दलसहित प्रतिपक्षमा रहने देखिएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।