सरोज अधिकारी/भरत केसी (इमेज)
काठमाडौं, भदौ ८ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विधान मस्यौदा संशोधन समिति गठनमा असन्तुष्टि जनाएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्दै नबसी स्थगित भएको छ ।
पौडेलपक्षले विधान संसोधन समितिमा असन्तुष्टिसहित अनुशासन र कार्यसम्पादन समिति गठन सम्बन्धमा के गर्ने भन्ने विषयमा सभापति शेरबहादुर देउवाबाट स्पस्ट हुन खोजेपछि संस्थापनपक्षले शनिबारसम्मका लागि बैठक स्थगित गरेको हो ।
शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा सहभागी बन्न प्रायः सबै सदस्यहरु समयमै बैठकस्थल पार्टी मुख्यालय सानेपा पुगिसकेका थिए । तर, सो समयमा पौडलपक्षका नेता भने धोबीघाटमा आन्तरिक तयारीमा थिए ।
पूर्वसहमतिविपरीत सभापति शेरबहादुर देउवाले पार्टी विधान संशोधन समिति गठन गरेको भन्दै पौडेलपक्षीय भेलाले असहमति जनाउने निर्णय गर्यो ।
बैठक बस्ने भन्दै दिउँसो करिब १ बजे पार्टी कार्यालय पुगेका पौडेलसहितका नेताहरुले सभापति देउवासँग विधान समिति ९ जना बनाउने भनिएकामा ११ बनाइएको, विधान समितिमा जिल्ला सभापतिहरुको प्रतिनिधित्व नगराइएको भन्दै त्यसलाई सच्याउन माग गरे ।
त्यस्तै, पार्टी अनुशासन समिति गठनमा कस्ता व्यक्तिलाई कुन कार्यक्षेत्र बनाएर काम लगाउने हो ? कार्यसम्पादन समिति कस्तो बन्ने भन्ने विषयमा पहिला नै टुंगो हुनुपर्ने माग गरेका थिए ।
त्यसपछि द्धिपक्षीय वार्ताहरु भएपनि निर्णय हुन नसक्ने भएपछि शुक्रबार बेलुका ५ बजे बैठक शनिबार बस्ने भन्दै स्थगित गरिएको हो ।
पौडेलपक्षीय केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पूर्वसमितिविपरीत विधान समिति गठन गरिएको विषय र कार्यसम्पादन समिति तथा अनुशासन समितिको विषयमा पनि आफूहरुले नेतृत्वसँग जवाफ माग गरेको जानकारी दिए ।
कांग्रेस बैठकले पार्टीको महासमिति बैठकको मिति र स्थान तोक्दै महासमितिबारे विभिन्न समितहरु गठन गर्ने निर्णय गर्ने बताइएको थियो ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठक तोक्नेलगायतका विषयमा केही गृहकार्य आवश्यक रहेकाले बैठक नेताहरुको परामर्शमा नै शनिबारका लागि सारिएको जानकारी दिए ।
अघिल्लै केन्द्रीय समिति बैठकबाट भदौ अन्तिममा महासमिति बैठक गर्ने निर्णय भएपनि आवश्यक तयारी भने हुन सकेको थिएन ।
निर्वाचनमा नमीठो हार व्यहोरेको कांग्रेसमा त्यसयता बढ्दै गएको आन्तरिक गुटगत ध्रुवीकरण अझै कम हुन सकेको छैन ।









प्रतिक्रिया दिनुहोस्