२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


उपत्यकाका ३ जिल्लामा मत गणना जारी


273
Shares

काठमाडौं । विभिन्न जिल्लाहरुमा आइतबार सम्पन्न भएकाे आम निर्वाचनको मतगणना सुरू भएको छ ।

आज साेमबार बिहानदेखि काठमाडौं निर्वाचन क्षेत्र नं ७ को मतगणना सुरू भएको हाे । काठमाडौं महानगरपालिका वडा नं १६ नयाँ बजारस्थित जुडो हलमा मतगणना सुरू गरिएको हो । सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिनुभयो । ४ स्थानमा मतगणना सुरू गरिएको छ । प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाएको छ ।

मतगणनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । मत गणना स्थललाई सुरक्षित बनाउन तारजाली लगाइएको छ। यस्तै ललितपुरका क्षेत्र नम्बर २ र ३ तथा भक्तपुर क्षेत्र नम्बर २ को मतगणना पनि सुरु भएको छ । ललितपुर क्षेत्र नम्बर २ को मतगणना स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा भइरहेको छ । काठमाडौं क्षेत्र नं १ को मत गणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा गर्ने तयारी भइरहेको छ ।

क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलिस्थित राधाकृष्ण मन्दिरमा गर्न लागिएको छ । क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा र क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा मतगणना गर्न लागिएको छ । त्यस्तै क्षेत्र नं.५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, क्षेत्र नं.६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा र क्षेत्र नं.७ को बालाजुस्थित जुडो हलमा मतगणना गर्न लागिएको छ ।

क्षेत्र नं. ८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा, क्षेत्र नं. ९ को रविभवनस्थित नाथम् कलेजमा र क्षेत्र नं १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गर्ने तयारी भइरहेको छ । उता, कास्की २ र झापाको क्षेत्र नम्बर २ मा पनि मत गणना सुरु गरिएको छ । निर्वाचन आयोगले यस पटक प्रत्यक्षतर्फ र समानुपातिक गरी ४ वटै मतपत्रको गणना एकसाथ गर्ने जनाएको छ ।