Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


जो नागरिक भइरहन भोट खसाल्छन्


39
Shares

सिरहा । चुनावी रौनकले गाउँसहर उत्साहित भएका बेला सिरहा भगवानपुर–२ पासवान टोलका सुकुमबासी बिन्देश्वर पासवानको मुहारमा कुनै उत्साह देखिँदैन। उनका लागि चुनावमा भोट खसाल्नु भनेको नागरिक भएको प्रमाण हो । भोट नखसाले समाजले नागरिक नै नभएको भन्ने डरले उनले भोट खसाल्दै आएका छन्।

सिरहा १ मा पर्ने भगवानपुरका बिन्देश्वरको भोटले २०४८ देखि २०७४ सम्म कैयन् नेता सांसद र मन्त्री भए। उनीहरूको जीवनशैली फेरियो, हैसियत फेरियो अनि पहिचान फेरियो। तर बिन्देश्वरको दुःख ज्यूँका त्यूँ छ। उनी त्यतिबेला पनि सुकुमबासी थिए, अहिले पनि छन्। बनिबुतो गरेर परिवार धान्दै आएका बिन्देश्वरका दुई छोरा र दुई छोरी छन्। एक छोरी र दुई छोराको विवाह भइसकेको छ। कान्छी छोरीको विवाह हुन बाँकी छ।

तीन वर्षअघि नाति प्रताप पासवानलाई घरअगाडिको सडकमा गाडीले ठक्कर दियो। उनको दाहिने खुट्टामा चोट लागेपछि लहान अस्पतालमा उपचार सम्भव भएन। चिकित्सकले विराटनगर सिफारिस गरिदिए। विराटनगरमा उपचार गराउँदा एक महिनामा २ लाख ऋण लाग्यो। सुकुमबासी उनलाई यति धेरै रकम कुनै साहुले पत्याएनन्। ‘चार–पाँच जनासँग मागेर त्यति रकम जुटाई अस्पतालाई बुझाएर नातिलाई घर ल्याएँ,’ उनी भन्छन्, ‘पैसा पनि गयो नातिको खुट्टा पनि निको भएन, सुक्दै गयो।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।