Logo २६ कार्तिक २०८२, बुधबार | Thu Nov 13 2025


केन्द्रीय आचारसंहिता अनुगमन समितिद्वारा ७ बुँदे निर्देशन


247
Shares

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्रीविवरण तथा सेवन गर्ने कार्य निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले मादकपदार्थ जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत् प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो ।

समितिका संयोजक समेत रहनु भएका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गराउनका लािग निर्वाचन कार्यमा संलग्न विभिन्न निकायलाई ७ बूँदे निर्देशन जारी गरिएको पनि जानकारी दिनुभयो । बैठकले अनुगमन अधिकृत र जिल्ला आचारसंहिता अनुगमन समितिलाई हालसम्म प्राप्त भएको आचारसंहिता उलंघन सम्बन्धी उजुरी र सो सम्बन्धमा सोधेको स्पष्टीकरण, उजुरीको फछर्यौट र कारबाहीको अवस्थासहितको प्रगति विवरण समितिमा वा आयोगमा पठाउन पनि निर्देश गरेको छ ।

निर्देशनमा भनिएको छ ‘निर्वाचन कसुर तथा सँजाय ऐन २०७३ को दफा २४ को उपदफा ५ बमाेजिम तथा निर्वाचन आचारसंहिता २०७९को दफा १७ बमोजिम मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मत गणनाको काम पुरा नभएसम्म निर्वाचन प्रचार प्रसार सम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने विषयमा राजनैतिक दल तथा उम्मेदवारलाई जानकारी गराई । सो व्यवस्थाको पालना गर्न गराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने । विभिन्न निकायहरुले तयार गरी पठाएका निर्वाचन आचार संहिता कार्यान्वयन कार्ययोजनालाई एकिकृत गरि तयार गरिएको कार्ययोजना स्वीकृत गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने । आफ्नो कार्यक्षेत्र भित्रको कुनै पनि स्थानमा कुनै उम्मेदवार र राजनीतिक दलले अस्वभाविक गतिविधि गरेको, भोज भतेर गरेको वा हातहतियार वा निशेधित सामान लिई हिडेको र शान्ति भंग गर्ने प्रयास भएको पाइए निगरानी राखेर तत्काल जानकारी गराउनुको साथै कारवाही गर्नुपर्ने भए तत्काल कारवाही गर्न आधिकारिक निकायलाई निर्देशन दिने । निर्वाचन आचारसंहिता २०७९ पालना गर्नुपर्ने दायित्व भएका निकायहरुले आचारसंहिताविपरित काम भए त्यसको विवरण लेखी सम्बन्धित जिल्लाको आचारसंहित अनुगमन समितिलाई पठाउने ।’

निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिन आयोग सक्षम रहेका पनि बताउनु भयो ।