Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


आचारसंहिता मिच्ने ८७ जनालाई आयोगको स्पष्टीकरण, कारबाहीमा भने एक जना मात्रै


104
Shares

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा निर्वाचन आयोगले ८७ जनालाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा २ अनुसार बिहीबारसम्म ८७ जनालाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

आयोगले बिहीबारमात्रै अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र उद्योगमन्त्री दिलेन्द्र प्रसाद बडुलगायतलाई स्पष्टीकरण सोधेको छ ।

सरकारी लाभको पदमा बसेर कांग्रेसका उम्मेदवार एवं अर्बपति विनोद चौधरीको लागि भोट मागेको भन्दै आयोगले केसीलाई स्पष्टीकरण सोधेको हो । यसैगरी, मन्त्री बडुलाई चुनावी प्रचार प्रसारमा विद्यालयको प्रयोग गरेको उजुरीको आधारमा पत्र काटिएको हो ।

स्पष्टीकरणको जवाफ दिएकामध्ये १२ जनाको स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नआएको आयोग स्रोत बताउँछ । बिहीबारसम्म स्पष्टीकरण सोधिएकामध्ये एक जनालाई मात्र कारबाही गरिएको छ । तर निर्वाचन आयोग भने स्पष्टीकरण सोधिनुलाई पनि आचारसंहिता उल्लंघनको कारबाही मान्दछ ।

आयोगले आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा स्पष्टीकरणको पत्र काटेकोहरुमा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांगे्रस महामन्त्री गगन थापा, नेकपा एमाले सचिव योगेश भट्टराईदेखि अन्य दलका शीर्ष नेता, सरकारी कर्मचारी, सरकारी कार्यालयसम्म रहेका छन् ।