२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दल फेरिरहने नै शक्तिशाली


351
Shares

काठमाडौं । चन्द्रौटामा आयोजित संवाद कार्यक्रममा कपिलवस्तु ३ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मंगलप्रसाद गुप्तालाई एक युवकले प्रश्न सोधे, ‘यो चुनाव सकिएको कति दिनमा एमाले छाड्नुहुन्छ ?’ गुप्ताले सहजै उत्तर दिन सकेनन्, जसोतसो टार्ने प्रयास गरे। ती युवकले सोधेको प्रश्नजस्तै गुप्ताको दलबदलको सिलसिला पनि लामै छ ।

पञ्चायतकालमा उनी सूर्यबहादुर थापानिकट थिए । २०४६ सालको राजनीतिक परिवर्तनपछि उनी नेपाली कांग्रेसमा प्रवेश गरे । उनी २०४८ सालको निर्वाचनमा कपिलवस्तुको तत्कालीन निर्वाचन क्षेत्र ४ मा कांग्रेसबाट उम्मेदवार बने तर पराजित भए । २०५६ सालको निर्वाचनमा पनि सोही क्षेत्रमा चुनाव लडेका उनको हातमा हार नै हात लाग्यो ।

त्यसपछि २०६४ र २०७० सालमा भएका संविधानसभा सदस्य निर्वाचनमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट उम्मेदवार भएका उनी दुवैपटक पराजित भए। २०७४ सालमा उनी संघीय समाजवादी फोरमबाट चुनाव लडे । त्यो चुनावमा पनि उनी पराजित भए । अहिले उनी एमालेबाट उम्मेदवार छन्। उनी उम्मेदवारी दर्ता गर्नुभन्दा केही समयअघि एमालेमा प्रवेश गरेका हुन् ।

यसरी दलबदल गरिरहेका गुप्ताले ती युवकको प्रश्नको सोझो जवाफ दिन नसकेका हुन् । पटकपटक दल बदले पनि गुप्ताको चुनाव लड्ने यात्रा रोकिएको छैन । उनी जुन पार्टीमा प्रवेश गर्छन्, त्यहाँ शक्तिशाली बन्छन् र टिकट पाउँछन् । टिकट पाउन सफल भए पनि गुप्ताका लागि हार मात्रै भागमा पर्दै आएको छ । गुप्ता मात्र होइन, उनका बाँकी प्रतिस्पर्धी पनि दलबदलसँगै शक्तिमा पुग्ने होडमा माहिर छन् । अन्य प्रतिस्पर्धी भने दल बदल्न मात्र होइन, जित्न पनि उत्तिकै माहिर छन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।