Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


बलात्कारका घटना बढेपछि सांसदले उठाए आवाज, सरकारको आलोचना (भिडियो)


0
Shares

सरोज अधिकारी/दिलिप पोखरेल (इमेज)

काठमाडौं, भदौ ७ । पछिल्ला दिनमा एकपछि अर्को गर्दै बलात्कारका घटना हुन थालेपछि संसदमा चर्को आवाज उठेको छ ।

बढ्दो असुरक्षाप्रति चिन्तित सत्तारुढ र विपक्षी दलका सांसदहरुले बलात्कारमा संलग्नलाई जन्मकैदको सजाय गर्न र नागरिकलाई सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेका छन् ।

आजकल दैनिकजसो बालिका तथा किशोरी बलात्कारका घटना सार्वजनिक भइरहेका छन् ।

तर, यस्ता घटनामा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै चौतर्फी आलोचना बढ्दै गएको छ । सरकारले प्रभावकारीरुपमा सुरक्षा दिन नसकेको भन्दै ठाउँठाउँमा स्थानीय प्रदर्शनमासमेत उत्रन थालेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले पनि सुरक्षा दिन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।

कन्चनपुरमा बालिकाको बलात्कारपछि हत्या भएको एक महिना पुग्नलाग्दासमेत अपराधी पत्ता लगाउन नसकेको भन्दै सांसदहरुले सरकारसँग जवाफ मागे ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद दीपकप्रकाश भट्टले कन्चनपुरमा भएको बालिका बलात्कार र हत्याबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरे ।

उनले प्रहरी छानबिन सुस्त भएको र छानबिन चलिरहँदासमेत जबर्जस्तीरुपमा सडकबाट अमुक व्यक्तिलाई दोषी बनाउन खोजिएकोमा आपत्ति जनाए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले सरकारले नागरिकलाई सुरक्षा प्रदान गर्न नसकेको भन्दै गृहमन्त्रीको जवाफ गरे ।

उनले घटना भएको एक महिनासम्म पनि पीडक पत्ता लगाउन नसकेकोमा सरकारको आलोचना गरे ।

त्यस्तै, सत्तारुढ दलका सांसद सूर्य पाठकले विपक्षी कांग्रेस अफवाह फैलाएर संघीयता मास्न लागेको आरोप लगाए ।

कर वृद्धिको बहाना बनाएर कांग्रेसले त्यसबाट नागरिकलाई भड्काएर संघीयता मास्ने खेल खेलेको आरोप उनको छ ।

कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले ‘प्रधानन्यायाशीश नियुक्ति प्रकरण के भइरहेको छ ?’ भन्दै संसद नियमावलीमा भएको प्रधानमन्त्री र मन्त्रीहरुसँग प्रश्नोत्तर गर्ने व्यवस्था तत्काल लागू गर्न माग गरे ।

विपक्षी राजपा नेपालका सांसदहरुले रेशम चौधरीलाई जेलमुक्त नगरे मधेसमा आन्दोलन गर्ने चेतावनी दिए ।

सांसदहरुले शान्ति–सुरक्षाको वातावरण बनाउन, कालोबजारी नियन्त्रण गर्न र शिक्षा क्षेत्रमा भइरहेको माफिया चलखेलको सूक्ष्म अनुगमन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

भिडियो हेर्नुहोस्