Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


निर्वाचनमा स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयकाे आग्रह


65
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीड-भाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले कोराेना संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीड-भाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचन केन्द्रित कार्यक्रममा भीड-भाड गर्दा कोराेना संक्रमण दर बढ्न सक्ने बताउनुभयो ।

उहाँले देशमा कोराेना संक्रमण दर धेरै नभएपनि संक्रमणको अवस्था भने यथावत रहेको उल्लेख गर्नुभयो । उहाँले भीड-भाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरु पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानी अपनाउनु जरुरी रहेको बताउनुभयो । डा. अधिकारीले कोराेनाविरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भीड-भाड हुने ठाउँमा नजान पनि आग्रह गर्नुभयो ।

डा. अधिकारीले विश्वव्यापी रुपमा कोभिड १९ को संक्रमण घटेको बताउनुभयो । देशमा पनि विगतको भन्दा सहज अवस्था रहेको उहाँको भनाइ छ । तर पनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउन सक्ने सम्भावनका कारण सावधानी अपनाउनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । देशमा अहिले ६ सयको हाराहारीमा कोराेना संक्रमितहरु रहेको उहाँले बताउनुभयाे ।