
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पाँचौं पटक इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् । २०५६ सालयताका सबै संसदीय निर्वाचनमा विजयी नेम्वाङलाई मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी हुन भने पार्टी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको ‘अपजस’ पर्गेल्नुपर्ने बाध्यता छ। नेम्वाङले आउँदो चुनाव जित्न आफूले चारपटक निरन्तर विजयी बन्दा निर्वाचन क्षेत्रका लागि गरेका कामबारे मतदातालाई ‘कन्भिन्स’ गर्नु आवश्यक छ। उनीसँग यसपटक सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काको मुख्य प्रतिस्पर्धा हुने अनुमान छ। खड्कालाई युवाको साथ छ तर ‘हेभिवेट’ नेम्वाङलाई उछिन्न उत्तिकै चुनौती पनि।
नेम्वाङले आफैंले तीनपटक चुनाव जितेको निर्वाचन क्षेत्रको भूगोल २०७४ सालको प्रतिनिधिसभा निर्वाचनअघि परिवर्तन भयो। परिवर्तित भूगोलमा समेत २०७४ सालमा जित हासिल गरेकाले विरासतलाई निरन्तरता दिने रणनीतिका साथ उनी चुनावी मैदानमा छन् । खड्का पनि यसपटक इलाम २ का मतदाताले नयाँ जनप्रतिनिधि चाहेको भन्दै विजयको दौडमा छन्।यो क्षेत्रको चुनावी अंकगणितमा एमाले र कांग्रेसबाहेक नेकपा माओवादी केन्द्रले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। नेकपा एकीकृत समाजवादी (नेकपा एस) को प्रभावचाहिँ यो क्षेत्रमा कम छ। नेकपा एसको संगठन कमजोर हुँदाको फाइदा नेम्वाङले लिने एमालेजनको भनाइ छ।
यो क्षेत्रमा एमालेबाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस नेम्वाङ पार्टीभित्र निर्विवादजस्तै छन्। उनीप्रति छिटपुट असन्तुष्टि भने छन्। इलाम कांग्रेसले सातजनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको थियो। केन्द्रबाट खड्काले टिकट पाएपछि संस्थापनइतर केही नेता भित्री रूपमा उनीविरुद्ध सक्रिय भएको कांग्रेसनिकट स्रोत बताउँछ। २०१० सालमा जन्मिएका सुवासचन्द्र नेम्वाङको बाल्यकाल इलाममै बित्यो। बुबा अदालतका न्यायाधीश भएकाले उनले इलाम सदरमुकामको सुन्तलाबारीस्थित आफ्नै घरमा बसेर विद्यालय र उच्च शिक्षा लिए। उनले कानुनमा स्नातक (बिएल) गरेका छन्।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्