
काठमाडाैं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गर्नुभएको छ ।
सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै उपाध्यक्ष पौडेलले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले सत्तारुढ गठबन्धनले मुलुकको समस्या मात्रै श्रृजना गर्ने जनताको ठम्याइ रहेको भन्दै आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने बताउनु भयो ।
सत्तारुढ गठबन्धनको कामकारबाहीलाई हेरेर आम मतदाताले उनीहरुलाई अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने अनुभुति भएको पनि उपाध्यक्ष पौडेलले पटकपटक दोहो¥याउनु भयो । अन्य सहयात्री दलहरुको पनि सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाउने र आगामी पाँच वर्ष मुलुक हाँक्ने उहाँको भनाइ थियो ।
रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवारसमेत रहनुभएका उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘नेकपा (एमाले) आउने निर्वाचनबाट पाँच वर्षका लागि जनादेश प्राप्त शक्तिका रुपमा सरकारको नेतृत्व गर्ने शक्तिका रुपमा उदाउने छ भन्ने मेरो अटल विश्वास छ । गठबन्धन र यो गठबन्धनका प्रभावहरु, यसका काम कारबाहीका प्रभावहरुले आम मानिसहरुलाई यो गठबन्धनलाई मुलुकको नेतृत्व दिन सकिँदैन भन्ने त्यो अनुभुति दिएको छ । र, मैले आफैं पनि प्रत्येक निर्वाचन क्षेत्रको स्थितिको बारेमा जानकारी लिने गर्छु । मैले १६५ निर्वाचन क्षेत्रको कुरा गर्दाखेरी र समानुपातिकतर्फको कुरा गर्दा हामी प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गर्दा नेकपा (एमाले) दुई तिहाई त म भन्दिन । साधारण बहुमत नेकपा (एमाले) एक्लैले ल्याउने स्थिति छ आजको मितिमा । र, त्यस अतिरिक्त हामीसँग निर्वाचन सहकार्य गरेका कतिपय राजनीतिक दलहरु पनि छन् । उनीहरुले पनि सरकार निर्माणमा हामीलाई साथ दिने स्थिति छ भन्दाखेरी हामी सुविधाजनक हाम्रो आफ्नै बहुमत । र, त्यसमा अरु पनि सहयात्री दलहरुको समर्थन गर्दाखेरी हामी सुविधाजनक बहुमतका साथ आगामी पाँच वर्ष मुलुकको नेतृत्व गर्छौं ।’
उपाध्यक्ष पौडेलले आफ्नो पार्टी निर्वाचनको तयारीमा सबैभन्दा व्यवस्थित ढंगले अघि बढेको पार्टी भएकोसमेत जिकीर गर्नुभयो । उहाँले छिटै पार्टी केन्द्रले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने घोषणासमेत गर्नुभयो । उपाध्यक्ष पौडेलले रुपन्देही क्षेत्र नम्बर २ बाट आफू सानदार ढंगले विजयी हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा (एमाले) विजयी हुन्छ, सानदार ढंगले विजयी हुन्छ । र, विगतमा निर्वाचनका नतिजाहरुलाई ब्रेक गर्नेगरी विजयी हुन्छ भन्ने त्यहाँका जनताको ठम्याइ छ । मैले यस बीचमा निर्वाचन क्षेत्रका मतदातासँग, त्यहाँका बुद्धिजीवि, श्रमिक, मजदुर, किसान सबै उद्योगी, व्यवसायी, युवा विद्यार्थी, महिला, दलित विभिन्न अल्पसंख्यक समुदायहरु, जनसमुदाय, मधेसी समुदायका जनसमुदाय, मुस्लिम समुदायका जनसमुदायलगायत सबै विभिन्न जाति, भाषा, धर्म, संस्कृतिका जनसमूदाय सबैसँग भेटेर मैले कुराकानी गरेको छु । उहाँहरुसँग भेटेर कुरा गर्ने क्रममा यही निष्कर्षमा उहाँहरु पुग्नुभएको निस्कर्ष पाएको छु कि मंसिर ४ गतेको निर्वाचनमा हामी नेकपा (एमाले) को तर्फबाट प्रत्यासी रहनुभएका उम्मेदवारहरुलाई विजयी बनाउँछौं भन्ने त्यो मनस्थितिमा, त्यो निस्कर्षमा त्यहाँका मतदाताहरु पुग्नुभएको छ । र, हामी अघिल्ला नतिजाहरुलाई ब्रेक गर्नेगरी त्यो उचाईबाट यस पटक सफलता प्राप्त गर्छौं भन्ने मलाई लाग्छ ।’
उपाध्यक्ष पौडेलले आफ्नो पार्टी शासकीय स्वरुपको विषयमा पुनर्विचार गर्ने पक्षमा नरहेको पनि स्पष्ट पार्नुभयो । संविधानको रक्षा र त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुने तर त्यसको शासकीय स्वरुपलाई तत्काल संशोधन गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको उहाँको भनाई थियो । संविधानको रक्षा र यसको प्रभावकारी कार्यान्वयनको क्रममा आर्जित अनुभवको आधारमा आउने दिनमा संविधान संशोधन हुँदै जाने उल्लेख गर्दै उपाध्यक्ष पौडेलले संविधानको प्रभावकारी कार्यान्वयननै आफ्नो पार्टीको केन्द्रिय विषय भएको बताउनु भयो ।
उहाँले भौतिक पूर्वाधार र मानवीय संशोधनको विकास गरेर मुलुकको समग्र आम्दानीलाई अगाडि बढाउने प्रश्नमा आफूहरु केन्द्रित रहेको पनि बताउनु भयो ।
उपाध्यक्ष पौडेलले संविधानले सुनिश्चित गरेका मौलिक हकहरुको निर्वाध रुपमा नागरिकहरुले उपभोग गर्न पाउने परिस्थितिको निर्माणमा पनि आफ्नो पार्टी लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्