Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


दुई दर्जन निर्वाचन क्षेत्रमा पुरानै प्रतिस्पर्धी


52
Shares

काठमाडौं । २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका नेताहरू मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि भिड्दैछन् । दुई दर्जनभन्दा बढी क्षेत्रमा पुरानै अनुहार दोहोरिएका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका नेता दुई दर्जनभन्दा बढी क्षेत्रमा पुनः प्रतिस्पर्धामा उत्रिएको अभिलेखबाट देखिन्छ।

प्रतिनिधिसभा सदस्यका लागि झापा ५ मा एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता खगेन्द्र अधिकारीदेखि कञ्चनपुर २ मा नारायणप्रसाद (एनपी) साउद र नरबहादुर धामीसम्म फेरि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। अघिल्लोपटक पराजित नेताहरू मंसिरमा हुने चुनावमा विगतको परिणाम उल्ट्याउने रणनीतिमा छन् । २०७४ सालको चुनावमा जितेका नेताहरू भने जितलाई निरन्तरता दिन सक्रिय छन्। अघिल्लो निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो भने कांग्रेसले राप्रपासँग समीकरण गरेको थियो। त्यसबेला झापामा भने राप्रपाले एमालेसँग गठबन्धन गरेको थियो।

अहिले पुरानो गठबन्धन भत्केर नयाँ बनेको छ। अघिल्लो निर्वाचनमा सँगै रहेका एमाले र माओवादी अलगअलग कित्तामा छन्। अहिले सत्तामा रहेका माओवादी केन्द्र, एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस), लोसपा र राष्ट्रिय जनमोर्चा (राजमो) कांग्रेस नेतृत्वको चुनावी गठबन्धनमा छन्। एमाले भने राप्रपा, जसपासहितका दलहरूलाई साथ लिएर अघिल्लो निर्वाचन परिणामलाई निरन्तरता दिने रणनीतिमा छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।