काठमाडौं । कञ्चनपुरस्थित तत्कालीन महेन्द्रनगर नगरविकास समितिमा व्यापक भ्रष्टाचार र अनियमितता भएको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो अनुसन्धानपछि महेन्द्रनगर नगर विकास समितिमा व्यापक अनियमितता भएको निष्कर्ष निकालेको हो ।
अख्तियारले सरकारी सार्वजनिक सम्पतिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै महेन्द्रनगर नगरविकास समितिका तत्कालीन अध्यक्ष गोपाल रसाइली, पल्टु राना, पुष्कर चौधरी, मालपोत कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख मालपोत अधिकृत कृष्णकुमार निरौलालगायत ३७ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
तत्कालीन नगरविकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानुनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पतिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अख्तियारले विस्तृत अनुसन्धान र छानबिन गरेको थियो । सो छानबिनका क्रममा नगरविकास समितिका पूर्वअध्यक्ष र मालपोतका अधिकारीको मिलिमतोमा सञ्चालक समितिबाट निर्णय गरेर जग्गा वितरण गर्नुपर्नेमा आफू निकट र आफन्तलाई तोकादेशका आधारमा जग्गा वितरण गरी भ्रष्टाचार गरेको पाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्