Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र तयार


130
Shares

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुईवटा प्रदेशका लागि मतपत्र छाप्ने काम सकिएको छ ।

निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका निर्वाचन क्षेत्रसहित हालसम्म यस प्रणालीतर्फ प्रतिनिधि सभाको ३८ र प्रदेश सभाको ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिएको छ ।

आयोगका अनुसार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक करिब २५ लाख मतपत्र छपाइ भइरहेको छ । हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रदेश सभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधि सभातर्फ ४३ लाख ४८ हजार कुल ९० लाख ६३ हजार मतपत्र छाप्ने काम सकिसकेको छ ।

उम्मेदवार रहे पनि नरहे पनि सबै चिन्ह राखेर विगतमा मतपत्र छपाइ गर्दा मतपत्रको आकार निकै ठूलो भएका कारण मतदान गर्न निकै झन्झट भएकोले यसपटक प्रत्यक्षतर्फ अन्तिम नामावलीमा कायम उम्मेदवारको निर्वाचन चिन्ह मात्र समावेश गरी मतपत्र छपाइ गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।