डडेल्धुरा । सत्तारुढ गठबन्धनका मुख्य नेतासमेत रहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन पटक आफूसँग पराजित माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टसँग सहकार्य गरेर चुनावी मैदानमा उत्रिनु भएको छ ।
डडेल्धुरामा गठबन्धन नगरेर स्वच्छ प्रतिस्पर्धा गर्ने नेपाली कांग्रेस जिल्ला कार्यसमितिको निर्णय विपरित पछिल्ला तीन पटकका निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी रहेका भट्टलाई प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट गठबन्धनको उम्मेदवार बनाउनु भएका प्रधानमन्त्री देउवाले माओवादीसँग सहकार्य गरेर चुनाव जित्ने रणनीति बनाउनु भएको हो ।
प्रधानमन्त्री देउवाले मात्रै होइन, उहाँसँग प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहनु भएका नेपाली कांग्रेस (बिपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले पनि २०७४ सालको निर्वाचनमा आफूसँग प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ मा झिनो मतले पराजित डा. तारा जोशीसँग सहकार्य गर्नु भएको छ ।
शनिबार संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस (बिपी) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार मल्ल र सत्तारुढ गठबन्धनबाट टिकट नपाएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बन्नु भएका नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य डा. जोशीले चुनावी तालमेल गरेर प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनलाई पराजित गर्ने उद्घोष गर्नुभएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्