Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


ओलीले आफू निकटलाई पाखा लगाए

आधिकारिकविरुद्ध बागी उम्मेदवारी परेपछि नेतृत्व तनावमा

6.5k
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनतर्फ टिकट वितरण गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सहयोगीहरूलाई पनि पाखा लगाएका छन्। लामो समयदेखि ओलीलाई साथ दिँदै आएका धेरै नेताले यसपटक टिकट नपाएर पाखा लाग्नुपरेको छ। दोलखाका आनन्द पोखरेल र पार्वत गुरुङ दुवै ओली निकट नेता हुन्। ओलीले उनीहरू दुवैलाई पाखा लगाएर व्यापारी बालकृष्ण शिवाकोटीलाई प्रतिनिधिसभा सदस्यको टिकट दिएका छन्। पाल्पाका दलबहादुर राना, राजबहादुर बुढाले पनि टिकट पाउन सकेनन्। उनीहरू सुरुदेखि नै एमालेभित्र केपी ओली समूहमा छन्।

एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लम्जुङबाट प्रदेशसभा सदस्यमा उठ्न चाहेको भए पनि उनलाई प्रतिनिधिसभाको टिकट दिइएको छ। ‘सिफारिस भएको र रोजेर उठ्न चाहे पनि ओलीले त्यसलाई अस्वीकार गर्दा समस्या परेको हो’, एमालेका एक नेताले भने। ती नेताका अनुसार कास्कीका खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउनेगरी ओलीले गुरुङलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएका हुन्। अध्यक्ष ओलीले आफू निकट मानिएका म्याग्दीका भूपेन्द्र थापालाई पनि टिकट नदिई हरिकृष्ण श्रेष्ठलाई दिएका छन्।

मोरङकी शिवमाया तुम्बाहाम्फेले प्रत्यक्षतर्फबाट निर्वाचन लड्ने तयारी गरेकी थिइन्। उनलाई पनि अन्तिम समयमा आएर टिकटबाट वञ्चित गरियो। काभ्रेकी नवीना लामा पनि टिकटबाट वञ्चित भइन्। कास्की ३ का जगत विश्वकर्माले पनि टिकट पाएनन्। उनी ओली सरकारको पालामा खेलकुद मन्त्री थिए। ओली निकट भनिएका बाँकेका नन्दलाल रोकाय, मकवानपुरका कृष्णप्रसाद दाहाल, काठमाडौंका विद्यासुन्दर शाक्य, रामेछापका माधव ढुंगेललगायत धेरै नेताले पनि टिकट पाएनन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।