१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


इरानको पहिलो घरेलु लडाकू विमान सार्वजनिक


0
Shares

तेहरान, भदौ ५ । इरानले तेहरानमा आयोजित प्रतिरक्षा प्रदर्शनीका अवसरमा मंगलबार पहिलो घरेलु लडाकू विमान सार्वजनिक गरेको छ ।

राज्य नियन्त्रित टेलिभिजनले इरानी राष्ट्रपति हसन रुहानीलाई राष्ट्रिय प्रतिरक्षा उद्योगको प्रदर्शनीमा राखिएको नयाँ ‘कौसार’ विमानको ककपिटमा बसेको देखाएको छ ।

यो चौथो पुस्ताको लडाकू विमान हो । यस विमानमा अत्याधुनिक उपकरणहरु र बहुउद्देश्यीय राडार जडान गरिएको छ । यो विमान शतप्रशित इरानी प्रविधिबाट उत्पादन गरिएको हो ।

राज्य नियन्त्रित टेलिभिजनले यो विमानको सफलतापूर्वक परीक्षण गरिएको र सार्वजनिक उडानका लागि धावनमार्गमा राखिएको जनाएको छ ।

यो विमानकाबारेमा शनिबारमात्र रक्षामन्त्री अमिर हतामीले जानकारी दिएका थिए । उनले यस परियोजनकाबारेमा ज्यादै कम विवरण सार्वजनिक गरेका छन् ।

रक्षामन्त्री हतामीले इरानको प्रतिरक्षा कार्यक्रम सन् १९८० को दशकमा इराकबाट ८ वर्षसम्म लगातार आक्रमण भएदेखि नै आरम्भ गरिएको बताए ।

इजरायल र संयुक्तराज्य अमेरिकाले बारम्बार चेतावनी दिएपछि इस्लामिक गणतन्त्रले आफ्ना सबै विकल्प खुला राख्नुपर्दछ भन्ने मान्यताबाट अघि बढेको पनि उनले स्पस्ट गरे ।

‘हामीले इरान–इराक युद्धबाट परनिर्भर होइन, आफैं सक्षम हुनुपर्दछ भन्ने कुरा सिक्यौं । हामीसँग स्रोत सीमित छ र न्यून लागतमै सुरक्षा प्रणालीलाई मजबुत् बनाउन हामी प्रतिबद्ध छौं’–उनले भने ।

अमेरिकाले अर्बौं डलरका हातहतियार इरानका क्षेत्रीय प्रतिद्वन्द्वी राष्ट्रहरुलाई बेचेको छ । तर, इरानमाथि प्रतिरक्षा कार्यक्रमलाई नियन्त्रण गर्न आग्रह गर्दै आएको छ ।

इरानमाथि दबाब सिर्जना गर्न अमेरिकाले आर्थिक नाकाबन्दी लगाइरहेको छ । रासस/एएफपी