९ असार २०८२, सोमबार | Tue Jun 24 2025


दशैंंका दिनमा पनि युवा रोजगारीका लागि विदेशिन बाध्य


598
Shares

काठमाडौं । यतिबेला सिंगो देश नै दशैंमय हुँदा केही युवायुवती भने विदेश जान बाध्य भएका छन् ।

आज (बुधबार) सम्पूर्ण नेपालीहरु महान चाड विजया दशमी मनाइरहँदा रोजगारी र अध्ययनका लागि केही मानिसहरु रातो टीका र जमरा लगाएर विमानस्थलमा परिवारसँग छुट्टिंदै थिए । बुधबार बिहान दशैंको टीका लगाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवाहरु विदेश जानका लागि परिवारसँग खुशी र दुःख एकैसाथ साट्दै गरेको देख्न सकिन्थ्यो ।

अधिकांश नेपालीहरू दशैंको उत्सवमा रमाइरहँदा केही भने रोजगारी र उच्च शिक्षाका लागि विदेश गइरहेका हुन् । तीमध्ये अधिकांश युवा छन् । रहरले भन्दा पनि बाध्यतामा परेर आफूहरू चाडबाडको मुखमा घर परिवार छोडेर विदेश जान लागेको उनीहरू बताउँछन् ।

उनीहरु अहिले दशैं मनाउन नपाए पनि परिवारको भविष्यका बारेमा सोचेर आफू विदेशिन लागेको बताउँछन् । महान चाड बडादशैंको बेलामा सयौँ युवाहरु रोजगारीका लागि विदेशिन बाध्य भएका छन् । घरपरिवारबाट बिदा भइ खादा र टीका लगाई विदेशिने युवाहरुको जमात विमानस्थलमा बाक्लै देख्न सकिन्छ ।

पर्वमा घर परिवारलाई छाडेर वैदेशिक रोजगारका लागि खाडी मुलुक जान लागेका युवाहरुको मन भारी भएकाे छ । यद्यपि हातमुख जोर्ने बाध्यताले चाडबाड मनाउने सुविधा भने दिएको छैन् ।