काठमाडौं । सांसदहरुले कोभिड–१९ को सङ्क्रमणको जोखिमका सन्दर्भमा कैलालीको क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कारमा संलग्न व्यक्तिलाई कारवाही गर्न र पिसिआर परीक्षण बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको शून्य समयमा भाग लिँदै नेकपाकी शारदादेवी भट्टले सिङ्गो समाज कोरोनामा जुधिरहेका बेला बलात्कारमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याएर कडा सजाय दिलाउन सरकारलाई सुझाव दिइन् ।
सोही दलकी विमला पौडेलले कोभिड –१९ को सङ्क्रमणसँगै महिला र बालबालिका विभिन्न समस्यामा परेकाले सरकारलाई यसतर्फ विशेष चनाखो हुन सुझाव दिइन् ।
नेकपाकै शेरबहादुर कुँवरले भारतका विभिन्न स्थानमा पेशा व्यवसायमा संलग्न रहेकामध्ये रोजगारी गुमाएर घर फर्केकामध्ये सुदूरपश्चिमका क्वारेन्टाइनमा ७० हजारदेखि ९० हजारसम्म बस्दै आएकाले उनीहरुको पीसिआर परीक्षण गर्न ढिलाइ भएकाले परीक्षण केन्द्र विस्तार गर्न तथा बलात्कारको घटनामा संलग्नलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।
सोही पार्टीकै रामनारायण बिडारीले विदेशमा कोभिड– १९ का कारण अलपत्र परेका नागरिकलाई तत्काल स्वदेश ल्याउने व्यवस्था गर्न सरकारलाई सुझाव दिए ।
उनले भने, “विदेशमा गएकाहरु अहिले रोग र भोकले समस्यमा परेका छन्, अहिले सङ्कटमा परेका पैसा नभएका त्यस्ता नागरिकलाई यहाँ ल्याउने व्यवस्था होस् ।”









प्रतिक्रिया दिनुहोस्