पनौती (काभ्रे) । एक, दुई, पाँच, १०, २० हैन ४३ वर्षपछि दशैंमा रोटेपिङ हालिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–१० मकैटारमा ४३ वर्षपछि रोटेपिङ हालिएपछि स्थानीयले बल्ल दशैं आएको भन्दै खुसी साटासाट गरेका छन् ।
यसअघि विक्रम संवत् २०३६ को दशैंमा रोटेपिङ हालेपछि सो कार्य रोकिएको थियो । त्यतिबेला स्थानीय वीरबहादुर खत्रीले रोटेपिङ हाल्ने नेतृत्व गर्नुहुन्थ्यो । उहाँको निधन भएपछि रोटेपिङ हाल्न रोकिएको राजेन्द्र कुँवरले स्मरण गर्नुभयो ।
उहाँका अनुसार हरेक वर्ष रोटेपिङ हाल्ने कुरा गरिन्थ्यो तर व्यवहारमा ल्याउन सकिएको थिएन । उहाँले भन्नुभयो, ‘अहिले बनेपछि आफ्नो पुस्ताले रोटेपिङ कसरी बन्छ भन्ने कुरा नजिकबाट हेर्न पाएको छ ।’ रुख काट्ने, चिरान गर्ने र रोटेपिङ हाल्ने काम पाँच दिनमा पूरा भएको उहाँले बताउनुभयो । त्यतिबेला बुवा, हजुरबुवाले रोटेपिङ बनाएको हेरेर त्यसलाई स्मरण गर्दै रोटेपिङ बनाउन सफल भएको बताउनुभयो ।
स्थानीय साधनकै प्रयोग गरेर बनाइएको रोटेपिङको जनश्रमदानबाहेक २० हजार रुपैयाँ खर्च भएको र त्यसको जोहो स्थानीयस्तरबाटै गरेको उहाँले बताउनुभयो ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्