यज्ञराज पाण्डे (इमेज)
काठमाडौं, असार २ । ‘एमसीसी’का विषयमा सत्ताधारी दल नेकपाको सचिवालय बैठक बस्न नसक्दा अन्योल त बढेकै छ, नेकपाभित्रको गतिरोध पनि चुलिँदै गएको छ ।
आन्तरिक विवाद बढ्दै गएपछि नेताहरुले भने पार्टी विधानअनुकूल चल्न नसक्दा पार्टी र सरकारको मतभेद बढ्दै जाँदा यसले नेकपाभित्र ठूलो दुर्घटना निम्त्याउनसक्ने अभिव्यक्ति दिएका छन् ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टबारे छलफल गर्न सत्तारुढ दल नेकपाले बोलाएको बैठक दुईपटकसम्म स्थगित हुँदा पार्टीभित्रको आन्तरिक विवाद झन् चुलिँदै गएको छ ।
जेठ २७ गते मंगलबारका लागि बोलाइएको बैठक पनि बस्दै नबसी स्थगित भएपछि जेठ ३२ गतेका लागि डाकिएको बैठकपनि स्थगित हुँदा पार्टीभित्र शंका–उपशंका उब्जिएको छ ।
लामो समयदेखि बस्न नसकेको स्थायी कमिटीको बैठकपनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आलटाल गर्दै आएपछि अनिश्चित बनेको छ भने सचिवालय बैठक पनि बस्न नसक्दा पार्टीभित्रको आन्तरिक विवाद झन् चुलिएर गएको छ ।
पार्टीको अन्तरिम विधानअनुसार नेकपा गठनको दुई वर्षभित्र सम्पन्न भइसक्नुपर्ने एकताको राष्ट्रिय महाधिवेशनको सुरसार छैन भने एकीकरणको दुई महिनामै टुंग्याउने भनिएको पार्टी एकताको प्रक्रिया अझै अलमलमै छ ।
विधानले व्यवस्था गरेको पोलिटब्यूरो कमिटी त गठन नै भएको छैन भने विधानमा व्यवस्था गरिएको एउटा व्यक्ति एउटा मुख्य जिम्मेवारीको व्यवस्था पनि लागू हुनसकेको छैन ।
त्यस्तै, तीन महिनामा सम्पन्न हुनुपर्ने अथवा कमिटीका २५ प्रतिशत सदस्यले बैठक आह्वान गर्दा १५ दिनमै डाक्नुपर्ने स्थायी कमिटी बैठकसमेत अनिश्चित बन्दा नेकपा नेतृत्व नै पार्टी विधान मिच्दै गएको आरोप लगाउँछन्, स्थायी कमिटी सदस्य युवराज ज्ञवाली ।
तर, नेकपा केन्द्रीय सदस्य कर्णबहादुर थापा भने सरकारले गर्ने कामहरु संविधान निर्दिष्ट हुने भएकाले पार्टीका आन्तरिक काम–कारबाही पार्टी विधानअनुसार नै चलेको र सरकारको काम–कारबाहीमा पार्टी विधान अनिवार्य नहुने भएकाले सरकारका काम–कारबाहीमा पार्टी हावी हुनुले पार्टीभित्रका स्वार्थ समूहले अनावश्यक गतिरोध पैदा गरेको जिकिर गर्छन् ।
नेकपाभित्रको गतिरोधले राज्यसँग प्रत्यक्ष सरोकार रहने विषय कहिले एमसीसी त कहिले राजनीतिक दलसम्बन्धीका अध्यादेशहरु त कहिले वामदेव प्रकरणले गिजोलेको देखिन्छ । र, यसको असर राज्यका काम–कारबाहीमा पनि झल्किएको स्पस्ट देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्