Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


दुर्लुङ पहिरोका मृतकहरुको सामूहिक अन्त्येष्टि, श्रीमान्–श्रीमती एउटै चितामा


0
Shares

लक्ष्मीप्रसाद सापकोटा (इमेज)

पर्वत, असार १ । पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका आठजनाको सोमबार सामूहिक दाहसंस्कार गरिएको छ ।

उनीहरुमध्ये छजनाको पर्वतको मोदीवेणीमा र अरु दुईजनाको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको हो ।

पर्वतको मोदीवेणीमा पाँचओटा चिता बनाएर छजनाको दाहसंस्कार गरिएको थियो ।

मृतकमध्ये ५३ वर्षीय तुलबहादुर र उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापालाई एउटै चितामा जलाइएको हो । नाति सम्राट, नातिनी बिबिसालाई छुट्टाछुट्टै चितामा जलाइएको थियो ।

त्यस्तै, अर्को परिवारका ३२ वर्षीया कमला विक र उनकी छोरी आठ वर्षीया प्रमिशा विकलाई पनि छुट्टाछुट्टै चिता बनाएर दाहसंस्कार गरिएको थियो ।

एउटै गाउँका छजनाको एकैपटक दाहसंस्कार गरिँदा सिंगो गाउँ नै भावविह्वल बनेको छ । दाहसंस्कारका लागि सैयौंको संख्यामा स्थानीयहरु घाटमा पुगेका थिए ।

तुलबहादुर दम्पतीलाई उनका छोरा अम्मरबहादुर थापाले दागबत्ती दिए । पहिरोमा आफ्नो छोरा सम्राट र बिबिसालाई गुमाएका उनले छोरा–छोरीलाई पनि दागबत्ती दिनुपर्ने बाध्यता आइपर्‍यो ।

भक्कानिँदै एकैपटक जन्मदिने बाबु–आमा र आफैंले जन्माएका छोरा–छोरीलाई दागबत्ती दिँदा उनको मन सम्हालिएको थिएन ।

त्यसैगरी, कमला विक र उनका छोरीलाई जेठाजुपर्ने चक्रबहादुर विकले दागबत्ती दिए ।

त्यसैगरी, पहिरोमा पुरिएका आमा–छोरा ३४ वर्षीया दिर्पा थापा र १७ वर्षीय विवेक थापाको बागलुङको जैमिनी नगरपालिकास्थित कालीगण्डकी किनारमा पर्ने जैमिनीघाटमा अत्येष्टि गरिएको छ ।

दिर्पा ‘लकडाउन’पछि छोरा विवेकसहित माइतीमा बस्दै आएकी थिइन् ।

हराएका जेनिसको खोजीकार्य वर्षाले प्रभावित

पहिरोले पुरिएका नौजनामध्ये १३ वर्षीय जेनिस विक अझैपनि भेटिएका छैनन् ।

शनिबार रातिदेखि नै खोजी गरिएपनि उनी अझै फेला नपरेका हुन् ।

आइतबार दिनभर पनि खोजी भएको थियो । सोमबार बिहानैदेखि खोजीकार्य थालिएको भएपनि निरन्तरको वर्षाले प्रभावित बनेको छ ।

दिनभर गाउँका सबै बासिन्दा मृतकहरुको दाहसंस्कार गर्नका लागि मोदीवेणी घाटतर्फ लागेपनि सुरक्षाकर्मीले सोमबार साँझ अबेरसम्म खोजी गरेको थियो । तर, भेट्न सकेको छैन ।

मंगलबार बिहानबाट पुनः खोजी गर्न सुरु गरिने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

दिनभरि खोजीकार्यमा सुरक्षा निकाय जुटेको भएपनि वर्षाले समस्या भएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

शनिबार राति ८ बजेतिर आएको पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको परिवारलाई बगाएको थियो । थापाको परिवारका छजना र विकका तीनजनाको परिवार पुरिएको थियो ।

थापा परिवारका छजनाकै शव फेलापरेको हो भने विक परिवारका बालक अहिलेसम्म भेटिएका छैनन् ।