मीरा बस्नेत र लक्ष्मणमान डंगोल (इमेज)
काठमाडौं, असार १ । झन्डै तीन महिनापछि सरकारी तथा निजी कार्यालयहरु पूर्ण सञ्चालनमा आएका छन् ।
गत चैत ११ गते ‘लकडाउन’ लागू भएपछि बन्द भएका कार्यालयहरु सोमबारदेखि पूर्णरुपमा सञ्चालनमा आएका हुन् ।
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहहदरबार र अन्य सरकारी कार्यालयहरुमा पनि चहलपहल बढ्न थालेको छ ।
गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सबै सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेपछि सोमबारबाट सबै सरकारी कार्यालयहरु दुई ‘सिफ्ट’मा सञ्चालनमा आएका हुन् ।
सबै सरकारी कार्यालयहरु पहिलो सिफ्टमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दोस्रो सिफ्टमा दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म खुला हुनेछन् ।
गत चैत्र ११ गतेदेखि बन्द भएका अधिकांश सरकारी तथा निजी क्षेत्रका कार्यालयहरु स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालनमा ल्याइएको हो ।
यसअघि, अत्यावश्यक सेवाका कार्यालयकहरु सीमित कर्मचारीबाट सञ्चालन गरिएकोमा सोमबारदेखि जनसरोकारसँग सम्बन्धित सबै कार्यालयहरु खुला गरिएको हो ।
कार्यालयहरु सञ्चालनमा आएपनि सेवाग्राहीको उपस्थिति भने न्यून रहेको पाइएको छ । जसका कारण काममा झञ्झट नभएको उनीहरुको अनुभव छ ।
केही सरकारी कार्यलयहरुले भौतिक दूरी कायम गरेका छन् भने सिंहदरबारभित्रकै मन्त्रालयहरुमा भने त्यो नियम पालना भएको पाइएन ।
कोरोना संक्रमणअघि जस्तो अवस्थामा कार्यालय सञ्चालन भएका थिए, त्यही पारा अहिलेपनि रहेको पाइयो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले कार्यालयमा मापदण्ड लागू गर्ने जिम्मा सम्बन्धित कार्यालय प्रमुखको भएको भन्दै सरकारी मापदण्ड पालना भए/नभएको अनुगमन गरिने दाबी गरे ।
लामो समयको लकडाउनले अर्थतन्त्रसमेत जर्जर बन्दै गएपछि सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।
तर, लकडाउन खुकुलो गर्ने र संक्रमणको दर तीव्र हुने समय एउटै परेकाले सेवाग्राही नै सचेत हुनुपर्ने अवस्था छ ।









प्रतिक्रिया दिनुहोस्