Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


दुर्लुङ पहिरोः छजनाको सामूहिक अन्त्येष्टि गरिँदै, शोकमा पर्वत


0
Shares

लक्ष्मीप्रसाद सापकोटा (इमेज)

पर्वत, असार १ । पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका छजनाको पर्वतको मोदीवेणीमा सामूहिक दाहसंस्कार गरिने भएको छ ।

पहिरोमा परी आठजनाको मृत्यु भएको थियो ।

अरु दुईजनाको छिमेकी जिल्ला बागलुङको पैंयुथन्थाप लगेर दाहसंस्कार गरिने जनाइएको छ ।

छजनाको मोदीवेणी घाटमा दाहसंस्कार गर्ने तयारी भइरहेको छ ।

पहिरोले पुरिएर मृत्यु भएका ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापा, नातिनी आठ वर्षीया बिबिसा र नाति १४ वर्षीय सम्राट थापा तथा विक परिवारका ३२ वर्षीया कमला विक र उनकी छोरी आठ वर्षीया प्रमिशा विकको सामूहिक दाहसंस्कार गरिने भएको हो ।

पहिरोमा पुरिएका आमा–छोरा ३४ वर्षीया दिर्पा थापा र १७ वर्षीय विवेक थापाको शव भने अत्येष्टिका लागि जैमिनी नगरपालिका–९, पैंयुथन्थाप लैजाने जनाइएको छ ।

दिर्पाको परिवारले आफ्नै घाटमा लगेर दाहसंकार गर्ने बताएको छ ।

उनीहरु सबैको अहिले जिल्ला अस्पताल पर्वतमा पोस्टमार्टम भइरहेको छ । पोस्टमार्टम सकिएपछि सोमबारै दाहसंस्कार गरिने स्थानीय प्रमु गुरुङले जानकारी दिए ।

दिर्पा ‘लकडाउन’पछि छोरा विवेकसहित माइतीमा बस्दै आएकी थिइन् ।

हराएका जेनिसको खोजीकार्य वर्षाले प्रभावित

पहिरोले पुरिएका नौजनामध्ये १३ वर्षीय जेनिस विक अझैपनि भेटिएका छैनन् । शनिबार रातिदेखि नै खोजी गरिएपनि उनी अझै फेला नपरेका हुन् ।

आइतबार दिनभर पनि खोजी गरिएको थियो । सोमबार बिहानैदेखि खोजीकार्य थालिएको भएपनि निरन्तरको वर्षाले प्रभावित बनेको छ ।

पर्वतमा सोमबार बिहानैदेखि मुसलधारे वर्षा भइरहेको छ । 

अहिले गाउँका सबै बासिन्दा मृतकहरुको दाहसंस्कार गर्नका लागि मोदीवेणी घाटतर्फ लागेपछि खोजीकार्य रोकिएको छ ।

मंगलबार बिहानबाट पुनः खोजी गर्न सुरु गरिने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सोमबार बिहानबाटै खोजीकार्यमा सुरक्षा निकाय र स्थानीयबासी जुटेको भएपनि वर्षाले गर्दा समस्या भएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

शनिबार राति तीनजना र आइतबार दिउँसोसम्म पाँचजना गरी आठजनाको शव भेटिएको थियो । बेपत्ता जेनिस विक सोमबार दिउँसोसम्म भेटिएका छैनन् ।

शनिबार राति ८ बजेतिर आएको पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको परिवारलाई बगाएको थियो । थापाको परिवारका छजना र विकका तीनजनाको परिवार पुरिएको थियो ।

थापा परिवारका छजनाकै शव फेलापरेको छ । विक परिवारका बालक अहिलेसम्म भेटिएका छैनन् ।

शोकमा पर्वत 

कुश्मा नगरपालिका–३, दुर्लुङ गाउँ यतिबेला शोकमग्न बनेको छ । सोच्दै नसकेको घटना गाउँमा घटेपछि दुर्लुङ गाउँमात्रै नभइ सिंगो पर्वत जिल्ला यतिबेला शोकमा डुबेको छ ।

एकै परिवारका छजना र अर्को परिवारका दुईजनाको प्राण एउटै पहिरोले लिएको छ । एकजना अझै बेपत्ता छन् ।

विश्व महामारीकारुपमा फैलिएको कोरोनाभाइरसले पिरोलिरहेको समयमा अझै ठूलो विपद् आइलागेको छ ।