काठमाडौं । प्रहरीले पूर्वराजदुत केशव झाको हत्यामा संलग्न भएको आशंकामा तीनजनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाले झाको घरमा सुरक्षा गार्ड तथा भान्सेको काम गर्ने सेतु तामाङ र दुईजना मालीलाई नियन्त्रणमा लिएको हो ।
मालीहरुको नाम खुलाइएको छैन । झा आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार विहान मृत अवस्थामा भेटिएका थिए ।
नियन्त्रणमा लिइएका तीनजनासँग दिनभरी सोधपुछ गरे पनि परिणाम ननिस्केपछि तराईमा क्रियाशील भूमिगत गिरोहको संलग्नताबारे पनि अनुसन्धान सुरु भएको स्रोतले जनायो ।
‘तर अनुशन्धान केन्द्रले भने नियन्त्रणमा रहेकै ब्यक्ति छन’, स्रोतले भन्यो । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार सोमबार विहान २ बजे तिर झाको हत्या भएको अनुमान गरिएको छ ।
‘भान्साकै चक्कु प्रयोग गरी हत्या गरिनु र चक्कु त्यही छोडिनु जस्ता विषयलाई हेर्ने हो भने हत्या गर्ने ब्यक्ति वा समूह टाढा छैनभन्ने हाम्रो अनुमान हो,’ महाशाखा प्रमुख धीरजप्रताप सिंहले भने । -नागरिक दैनिकबाट




प्रतिक्रिया दिनुहोस्