काठमाडौं, जेठ ३२ । पछिल्ला केहि दिनदेखि सरकार बिरुद्ध सडकमा लागेको ‘इनफ इज इनफ’ नाराले संसदमा प्रवेश पाएको छ ।
प्रतिनिधिसभाको आज बसेको बैठकको विशेष समयमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकार बिरुद्ध सडकमा लागेको ‘इनफ इज इनफ’ लाई संसदमा पनि उठाएका छन् । सांसद केसीले जनता सडकमा आईसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सत्तारुढ दलका सांसदद्धय मातृका यादव, जुलीकुमारी महतो र प्रतिपक्ष दल समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियाले जेठ २७ गते राती धनुषा जिल्ला सवैला नगरपालिकामा ट्याक्टर चालकको प्रहरी हिरासतमा भएको मृत्युको छानविन गरी दोषीलाई कारवाही गर्न सरकारसंग माग गरेका छन् ।
सांसद प्रभु साह र देवप्रसाद तिमिल्सिनाले धान रोप्ने बेला किसानले मलखाद पाउन नसकेको र सरकारले वितरण गर्ने मलखादमा व्यापक अनियमितता भएको भन्दै सरकारको ध्यानकाकर्षण गराएका छन् । सांसदद्वयले कोरोना संक्रमितको पीसीआर परीक्षण छिटो गराउने व्यवस्था गर्न र क्वारेन्टिनलाई व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
यस्तै, सांसदहरु लालकाजी गुरुङ, पदम गिरी, दुर्गाबहादुर रावत, रामकुमारी चौधरी लगायतले कोरोना संक्रमित र क्वारेन्टिनमा बसेकाहरुको दु्रत गतिमा पीसीआर परीक्षण गराउन ध्यानाकर्षण गराएका छन् ।
सांसद प्रेम सुवालले अद्यावधिक नक्सालाई आधिकारीकता दिन शनिवार प्रतिनिधिसभाले संविधान संशोधन पारित गरेपछि भारतको विदेश मन्त्रालयले गरेको टिप्पणीप्रति आपत्ति जनाएका थिए ।
सांसद प्रदीप यादवले अतिक्रमित भूमि समेटेर नक्सा जारी गरीसकेको अवस्थामा प्रमाण जुटाउन भन्दै सरकारले गठन गरेको विज्ञ समितिप्रति असन्तुष्टि व्यक्त गरे ।








प्रतिक्रिया दिनुहोस्