२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह


0
Shares

काठमाडौं, जेठ ३१ । नेपालमा यस वर्ष दुई दिन ढिलोगरी मनसुन भित्रिएको छ ।

मनसुन नेपालको पूर्वी भू–भागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

शुक्रबार बेलुका नेपालको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको मनसुन आइतबार (भोलि)बाट देशभर फैलिइ मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताइन् ।

मौसम पूर्वानुमान महाशाखाले मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्न सबैमा अनुरोध गरेको छ ।

साधारणतया अंग्रेजी महिनाको जुन १० देखि सेप्टेम्बरसम्मका चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुन अवधि मानिन्छ । सो अवधिमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ ।

मनसुन अवधिमा मुलुकभरको औसत वर्षाको मात्रा एक हजार ४९९ दशमलव छ मिमिमिटर रहेको छ । योभन्दा १० मिलिमिटर बढी वा कम वर्षा भएपनि औसत वर्षा नै मानिने बताइएको छ ।

यस्तै, काठमाडौं उपत्यकाको वार्षिक वर्षा एक हजार ४५४ दशमलव आठ मिलिमिटर रहेको छ ।

गत वर्ष १० दिन ढिलोगरी जुन २० अर्थात् असार ५ मा नेपालमा भित्रिएको मनसुन औसत दिनभन्दा १९ दिन ढिलोगरी अक्टोबर १२ (असोज २५) मा मात्रै सकिएको थियो ।

मनसुनमा औसत वर्षा हुने

मनसुन ढिलो भित्रिएपनि मुलुकभर मनसुनको समयमा औसत वर्षा हुने भएको छ ।

दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ले हालै नेपालसहित समग्र दक्षिण एसियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुकभर औसत वर्षा हुने प्रक्षेपण गरेको छ ।

अंग्रेजी महिनाको जुन, जुलाई, अगस्ट र सेप्टेम्बरमा नेपालसहित दक्षिण एसियाका लागि मनसुन अवधि मानिन्छ । सो चार महिनाको अवधिमा नेपालमा वार्षिक वर्षाको ८० प्रतिशतका हाराहरीमा पानी पर्ने गर्दछ ।

मौसमविद्काअनुसार कम वर्ष हुने भन्दैमा बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोप नहुने भन्ने हुँदैन । केही घन्टाको मुसधारे वर्षाले पनि ठूलो प्राकतिक प्रकोप हुनसक्छ । मनसुनमा नेपालमा सबैभन्दा बढी वर्षा कास्कीको लुम्लेमा हुने गर्छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर सामान्य बदली रही प्रदेश नम्बर–१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम २१.५ डिग्री र अधिकतम् तापक्रम ३०.९ डिग्री सेल्सियस रहेको छ ।

शनिबार सबैभन्दा कम जुम्लाको न्यूनतम् तापक्रम १५.६ डिग्री र सबैभन्दा बढी नेपालगन्जको अधिकतम तापक्रम् ३८.२ डिग्री सेल्सियस रहेको छ । रासस