Logo १० कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026


सांसद सरिता गिरीको संशोधन प्रस्ताव प्रस्तुत गर्न अस्वीकृत


0
Shares

काठमाडौं, जेठ ३१ । प्रतिनिधिसभाको शनिबारको बैठकमा मुलुकको नयाँ नक्सालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा समाजवादी पार्टीकी सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति प्राप्त भएन ।

सभाको शनिबारको बैठक प्रारम्भ हुनासाथ सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयकमाथि दफावार छलफलका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाललाई बोल्न समय दिँदा सांसद गिरीले उठेर बोल्न खोजेपछि सभामुखले उनको संशोधन अस्वीकृत भएकाले बोल्न समय दिन नसकिने जानकारी दिए ।

सभामुख सापकोटाले गिरीले पेस गरेको संशोधन प्रतिनिधिसभा नियमावली, २०७५ को दफा ११२ को (२) बमोजिम प्रक्रिया पूरा नभएकाले अस्वीकृत भएको घोषणा गरी आफ्नो स्थानमा बस्न आग्रह गरे ।

सांसद गिरीले बोल्न समय माग गर्दा अन्य सांसदले समय नदिन ‘हुटिङ’ गरेका थिए ।

सो उपदफामा कुनै विधेयकमाथि सांसदको संशोधनलाई स्वीकृत वा अस्वीकृत गर्ने अधिकार सभामुखलाई दिइएको छ ।

गिरीले नयाँ नक्सामा समावेश भएको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भू–गाग हो भन्ने प्रमाण नभएको जिकिर गरी संशोधन पेस गरेकी थिइन् ।

उक्त संशोधन पार्टीको सहमतिविपरीत भएकाले फिर्ता लिन पार्टीले गिरीलाई निर्देशन दिएकामा उनले अटेर गर्दै आएकी थिइन् ।

सो विषयमा गिरीका अभिव्यक्ति र संशोधनलाई राष्ट्रियताविरोधी भनी आलोचना भएको थियो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले दफाबार छलफल गरियोस् भनी प्रस्ताव पेस गरेकी थिइन् ।

विधेयकमाथि शीर्ष नेतासहितले विचार प्रस्तुत गरेपछि निर्णयार्थ प्रस्तुत गरी पारित गरिने कार्यसूची छ । रासस

Skip This