Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


राष्ट्रियताको सवालमा एक हुन्छौं : महतो


0
Shares

काठमाडौं, जेठ ३१ । जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले नेपालको संविधान २०७२ सबै नेपालीको संविधान बन्न नसकेको दोहोर्‍याएका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा उनले सबै जातजाति र क्षेत्र विशेषको संविधान बन्न नसकेको भन्दै आफूहरुको माग अहिलेसम्म पनि पूरा नभएको बताए ।

नक्सा अद्यावधिक गरी संविधान संशोधन गरी अनुसूचीमा राख्दैगर्दा संसदमा बोल्दै सांसद महतोले आफूहरुका माग पूरा गनेगरी संशोधन पनि ल्याउन आग्रह गरेपनि नआएको बताए ।

यो मुलुकमा ७० वर्षमा विभिन्न कुकर्मले गर्दा छओटा संविधान खेर गएको भन्दै उनले अहिले जारी संविधानलाई पनि खारेज नगरी बचाउनेतिर लाग्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको सुनाए ।

नेता महतोले नेकपा पार्टी ठूलो भएपनि नेताहरुको मन ठूलो नभएको भनी आक्रोश पोखे ।

संविधानमा थुप्रै असन्तुष्टि भएपनि राष्ट्रियता र देशको भूमिको सवाल उठेसँगै आफ्नो पार्टीले पूर्णरुपले समर्थन गरेको उनले बताए ।

सबै जातजातिको भावना बुझ्न आग्रह गर्दै नेता महतोले जतिसुकै असन्तुष्टि भएपनि राष्ट्रियताको सवालमा एक हुने बताए ।

यो त मधेसी भन्ने भावना राखेर यसले राष्ट्रियताबारे के बोल्छ ? भन्ने भ्रम आजदेखि मधेसका नेता तथा जनताप्रति नराख्न आग्रह गर्दै महतोले सीमारेखाको रक्षा मधेसीले नै गरेको स्पस्ट पारे ।

‘संसदबाटै महाकाली सम्झौता गर्दा महाकालीको मुहानको पत्तो नलगाइ सम्झौता गर्ने ?’ भन्दै उनले त्यस्ता राष्ट्रघातीलाई नेपाली जनतासमक्ष बाहिर ल्याउनैपर्ने बताए ।

कागजमा कोरेर नेपाली जनताले जमिन फिर्ता नआउने भन्दै वार्तातर्फ पनि गम्भीर बन्न आग्रह गर्दै उनले वर्षौंदेखिको नेपाल–भारतको सम्बन्ध ओली र नरेन्द्र मोदीले नबनाइदिएको बताए ।

सभामुख अग्नि सापकोटाले बोल्ने समय तोकेको र बत्ती बालेकोप्रति आक्रोश पोख्दै ‘भेदभावको नियम जारी राख्ने ?’ भनी महतोले प्रश्न गरेका थिए ।

‘ऐतिहासिक समयको दिन पनि के समय भन्ने, के बत्ती बाल्ने ?’ भनी उनले सोधेका थिए ।

उनले यो देशको भूमिको सवाल भएको भन्दै यो सामान्य प्रस्ताव नभएको बताए ।

सांसद महतोले जनताको प्रतिनिधिले गम्भीर विषयमा बोल्दाखेरी समयको प्रतिबन्ध नलगाउन आग्रह गरे ।