Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


माइतीघरमा घन्कियो नारा: ‘सरकार ! आमाले भन्नुभा बेसार होइन पिसिआर नै चाहिन्छ रे’


0
Shares

काठमाडौं । शनिबार(आज)पनि काठमाडौंमा सरकार विरुद्ध प्रदर्शन भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको प्रभावकारी कदम नभएको भन्दै माइतीघर मण्डलमा विरोध प्रदर्शन भएको हो ।

कोरोना नियन्त्रणमा भएको दश अर्ब खर्च विवरण सार्वजनिक गर्नुपर्ने, आरडिटी परीक्षण रोकेर पिसिआर परीक्षण गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनुपर्ने लगायतका माग राखेर प्रदर्शन भएको हो । प्रदर्शनमा उत्रिएका एक नेपाली र केही विदेशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार प्रदर्शनकारीले ‘लकडाउनः सरकारको दशैं जनताको दशा, नयाँ नक्सा जारी गरेकोमा सरकारलाई धन्यवाद, १०० प्रतिशत पिसिआर, जनता मरेको टुलुटुलु हेर्ने राष्ट्रवाद हुन सक्दैन, सरकार आमाले भन्नुभा बेसार होइन पिसिआर नै चाहिन्छ रे, कोरोनाको अचार अदुवा, लसुन, बेसारः डा. केपी शर्मा ओली, मेलम्ची मागेको तर पानीको फोहोरा पाएँ’ लेखेका प्लेकार्डसहित प्रदर्शन गरिएको हो।

बिहान माइतीघर निस्कने हरेक चोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। प्रदर्शनमा जानेहरुलाई प्रहरीले रोकिरहेका थिए। मोबाइल सम्पर्क नहोस् भनेर सरकारले जामर पनि राखेको थियो । जसले गर्दा नेटवर्क विच्छेद भइरहेको थियो ।

यद्यपी, सरकारले कोरोना भाईरस रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण खार्वजनिक गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण समितिको निर्देशन समितिको निर्णय अनुसार आज ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँका खर्च विवरण सार्वजानिक गरिएको हो ।