Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


सरकारको चेतावनीका बाबजुद विभिन्न स्थानमा शुक्रबार पनि प्रदर्शन


0
Shares

काठमाडौं, जेठ ३० । सरकारले ‘लकडाउन’ उल्लंघन गरी प्रदर्शन, धर्ना तथा जुलुस गरेमा ६ महिना थुन्ने र जरिवाना तिराउने चेतावनी दिएपछि शुक्रबार पनि उपत्यकासहित देशका विभिन्न स्थानमा सरकारी रबैयाविरुद्ध प्रदर्शन भएको छ ।

काठमाडौं उपत्यकाका तीनओटै जिल्लाका विभिन्न स्थानमा बिहानदेखि अपराह्नसम्म प्रदर्शन तथा धर्ना भएका थिए ।

काठमाडौंका वसन्तपुर, कीर्तिपुर, दक्षिणकाली र फर्पिङ, ललितपुका पुल्चोक र झम्सीखेल, भक्तपुरको सल्लाघारीमा शान्तिपूर्ण विरोध प्रदशन भएको हो ।

विभिन्न प्लेकार्ड, ब्यानर प्रदर्शन गर्ने र मुकुन्डो लगाएर विरोध प्रदर्शन गरिएको थियो ।

कोरोना संक्रमण नियन्त्रण गर्न सरकार असफल भएको, ‘पीसीआर’ परीक्षणको दायरा बढाउनुपर्ने, महामारीको बेला पनि सरकार भ्रष्टाचारमा लिप्त भएको र जनताप्रति निर्मम व्यवहार देखाएको भन्दै सर्वसाधारण स्वस्फूर्तरुपमा प्रदर्शनमा उत्रिएका हुन् ।

विभिन्न ठाउँमा कोणसभामा समेत भएको थियो ।

प्रदर्शनकारीहरुले स्वास्थ्य सामग्री खरिद पारदर्शी हुनुपर्ने, ‘आरडीटी’ रोकेर पीसीआर परीक्षण गर्नुपर्ने, कर तिर्ने ताकेता रोक्नुपर्ने, ‘एमसीसी’ र सुकुम्बासी आयोग खारेज गर्नुपर्ने, ‘लकडाउन’ अवधिलाई शून्य समय घोषणा गर्नुपर्ने माग पनि गरेका छन् ।

प्रदर्शन नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।