अक्कल कुँवर (इमेज)
काठमाडौं, जेठ ३० । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले काम गर्न नसकेको तथा स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै सदनदेखि सडकसम्म विरोध भइरहेको छ ।
सरकार भने आफ्ना कामको समीक्षा गर्नुको सट्टा ढाकछोप गर्ने र सडकको प्रदर्शनलाई राजनीतिक रङ दिने प्रयासमा लागेको छ ।
८० दिन लगातार ‘लकडाउन’ गर्दापनि कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा र उपचारमा सरकारले प्रभावकारी काम नगरेको भन्दै कुनै दलको झन्डा नबोकी देशभर नागरिकस्तरबाट सडकमा आक्रोश पोखिन थालेपछि सरकारले त्यसलाई राजनीतिक रङ दिने कोसिस गरेको छ ।
प्रमुख प्रतिपक्षी तथा सत्तारुढ दलकै सांसदहरुले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारका काम–कारबाही प्रभावकारी नभएको, स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै सदनबाटै बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
सदनदेखि सडकसम्म उठेका आवाजलाई सुनेर आफ्ना कामको समीक्षा गर्नुको सट्टा सरकार भने आवाज उठाउनेहरुप्रति असहिष्णु देखिएको छ ।
प्रश्न उठाउनेहरुमाथि जबर्जस्ती राजनीतिको भारी बोकाउने र खिसिट्युरी गर्ने काम सरकारी पक्षबाट भइरहेको छ ।
लकडाउन खुकुलो भएलगत्तै काठमाडौंसहित देशका विभिन्न भागमा प्रदर्शन सुरु भयो ।
सरकारले लकडाउन उल्लंघन गरेर प्रदर्शन गरेमा ६ महिना थुन्ने चेतावनी दिएपनि प्रदर्शन शुक्रबार पनि जारी रहेको छ । बरु, प्रदर्शनकारीहरुले आफूहरुलाई थुनेर देखाउन खुलेआम चुनौती दिएका छन् ।
तर, सरकारका मन्त्रीहरु सडकको प्रदर्शनलाई राजनीतिक रङ दिएर आफ्नो कमजोरी लुकाउने दाउमा रहेको प्रस्ट देखिन्छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि सबै पक्ष सचेत हुनुपर्ने र सहयोग हुनुपर्नेमा शंका छैन । त्यसका लागि राज्य नै सबैभन्दा बढी संवदनशील हुनुपर्दछ ।
सडकमा उत्रिनेहरुले सरकारलाई सचेतमात्रै गराएका हुन् । त्यसलाई राजनीतिक रङ दिन खोज्नु सरकारको असहिष्णु व्यवहारको निरन्तरता हो ।









प्रतिक्रिया दिनुहोस्