Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


मोटरसाइकलमा जोर–बिजोर लागू नहुने, चारपांग्रेमा तीनभन्दा बढी चढे गाडी नै ‘होल्ड’ (भिडियो)


26
Shares

गृष्मा राजभण्डारी र राजेन्द्र नापित (इमेज)

काठमाडौं, जेठ ३० । ‘लकडाउन’ खुकुलो गरेसँगै सरकारले निजी सवारी–साधनहरु सञ्चालनका लागि पनि केही नियमहरु बनाएको छ ।

जेठ ३० गतेदेखि लागू भएको नियमबारे कतिपय सवारीचालकहरुलाई थाहा नभएको पाइएको छ भने कतिपयले भने चलाखीपूर्वक ट्राफिक प्रहरीलाई छल्ने गरेका छन् ।

सडकमा खटिएका सुरक्षाकर्मीहरुले लकडाउनको नयाँ ‘मोडालिटी’विपरीत मोटरसाइकलमा दुईजना सवार भएकोमा पछाडि बस्नेलाई ओराल्ने गरेको छ । तर, त्योपनि सवार व्यक्तिहरुको प्रकृति हेरेर ।

यस्तै, चारपांग्रे सवारी–साधनको हकमा तीनजनाभन्दा बढी चढेको पाइएमा गाडीबाट ओराल्नेमात्र नभइ गाडी नै ‘होल्ड’ गरी कारबाही गर्न थालिएको छ ।

कोराना संक्रमण नियन्त्रण गर्न मोटरसाइकलमा एकजनामात्रै चढ्ने र चारपांग्रेमा तीनजनामात्रै चढ्ने नियम ठिकै होला । सरकारको नियम चित्त नबुझेपनि पालना गर्नु बाध्यता भएको उनीहरुको भनाइ छ ।

त्यसो त सवारी–साधन चलाउनेहरु आफैंपनि सचेत रहेको पाइन्छ ।

कोरोना संक्रमणपछि परिवारभन्दा बाहिरको वा विश्वस्त मान्छेबाहेकलाई ‘लिफ्ट’ दिनु आफ्नै लागि खतरा हो भन्ने बुझेका चालकहरु सरकारको नियम उपयुक्त नभएको गुनासो गर्दछन् ।

उक्त नियम लागू गराउनु आफूहरुको दायित्व भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए ।

मोटरसाइकलको हकमा भने जोर–बिजोर प्रणाली लागू नहुने पनि श्रेष्ठले जानकारी दिए ।

निजी सवारी–साधन चलाउन खुला गरिएपनि एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन । तर, उपत्यकाको हकमा भने तीनवटै जिल्लामा एक जिल्ला मानिएको छ ।

बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म भने निजी सवारी–साधनहरु चलाउन  रोक लगाइएको छ ।

भिडियो हेर्नुहोस्