Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


‘प्रेस काउन्सिलले गरेको मिडिया सर्वेक्षण अनर्गल दुष्प्रचार र दुराशयले भरिएको’


0
Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालले जेठ १६ मा सार्वजनिक गरेको मिडियामाथिको विश्वसनीयतासम्बन्धी अध्ययन र सर्वेक्षण प्रतिवेदनबारे नेपाल मिडिया सोसाइटीले आपति जनाएको छ ।

सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलद्वारा बिहीबार जारी विज्ञप्तिमा सो प्रतिवेदन थुप्रै अनर्गल दुष्प्रचार र दुराशयले भरिएकाले उक्त सर्वेक्षण रद्द गरी क्षमायाचना गर्न माग गरिएको छ ।

कोरोना महामारीको मौका छोपेर काउन्सिलले ल्याएको उक्त प्रतिवेदनले अनुसन्धानको धज्जी उडाउँदैं विधिको शासन र स्वतन्त्र पत्रकारिताको समेत मर्ममा प्रहार गरेको निष्कर्ष सोसाइटीको छ ।

‘पछिल्लो समयमा मिडिया हाउस र स्वतन्त्र पत्रकारहरूको बचेखुचेको जोस र जाँगरमाथि पनि प्रहार गर्न नियोजित रूपमा कोरोना महामारीको मौका छोपेर ल्याइएको हनुसन्धान र सर्वेक्षण प्रतिवेदनले प्रेस काउन्सिल र त्यसका अधिकारीहरूको हैसियतलाई समेत उदागों पारेको,’ विज्ञप्तिमा उल्लेख छ ।

आफैं सर्वेक्षण गर्ने, आफैं प्रतिवेदन तयार गर्ने र आफैंले सो बुझ्ने अचम्मको विधि अपनाउँदै प्रतिवेदन सार्वजनिक गरेर हास्यास्पद तमासा देखाइएको सोसाइटीको निष्कर्ष छ ।

‘काउन्सिलले नेपाल पत्रकार महासंघका अध्यक्षको संयोजकत्वमा गठित भनिएको सर्वेक्षण टोलीको कामले महासंघको गरिमामय इतिहासमाथि समेत धब्बा लगाउने काम गरेको छ । साथै सर्वेक्षण प्रणालीको प्राज्ञिक र वैज्ञानिक विधिको समेत हुर्मत लिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्ता प्रकारका कथित प्रतिवेदनले स्वतन्त्र मिडियाको धज्जी उडाउने निश्चित छ ।’

सोसाइटीले पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाइन गरी देशभर २० हजारभन्दा बढी आमसञ्चार माध्यम क्रियाशील रहेको र त्यसका लाखौं उपभोक्ता नेपाल र विदेशमा रहेको उल्लेख गर्दै जम्मा १ सय ७६ जनामा सर्वेक्षण गरी विश्वसनीयतासम्बन्धी नतिजा सार्वजनिक गर्नु भनेको नेपालका मूलधारका सञ्चार माध्यमको तेजोबध गर्ने कुत्सित उद्देश्य रहेको जनाएको छ ।

मिडिया सोसाइटीले मिडिया काउन्सिल विधेयक छिटो पारित गर्न पनि माग गरेको छ ।