दीपेन्द्र अधिकारी (इमेज)
काठमाडौं, जेठ २९ । सत्तारुढ दल नेकपाको स्थायी कमिटी तथा सचिवालय बैठकहरु बस्न सकिरहेको छैन ।
पार्टीभित्र आफूले भनेको कुरा लागू हुने अवस्था नआएसम्म पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठक राख्न तयार नभएको विश्लेषण हुन थालेको छ ।
नेकपा स्थायी कमिटीका २० जना सदस्यले गत वैशाख १० गते विधानअनुसार बैठक बोलाउन माग गर्दै अध्यक्षलाई पत्र लेखेपनि अहिलेसम्म पनि बैठक बस्न सकेको छैन ।
त्यस्तै, गत जेठ १७ गते बसेको सचिवालय बैठकमा दुई अध्यक्षबीचको छलफलपछि तत्काल अर्को बैठक बोलाएर पार्टीभित्र नै विवादित बनेको ‘एमसीसी’ सम्झौतामाथि विस्तृत छलफल गर्ने सहमति भएको थियो ।
तर, यही जेठ २७ गतेका लागि डाकिएको सचिवालय बैठक पनि अन्तिम घडीमा प्रधानमन्त्री ओलीको तर्फबाट स्थगित गरियो । बैठक स्थगितमात्रै गरिएन, अर्को बैठक कहिले बस्ने भन्नेसमेत टुंगो छैन ।
सरकार सञ्चालनमा पार्टीको भूमिकालाई लिएर प्रश्न उठ्ने र एमसीसीको चेपुवामा परेकाले प्रधानमन्त्री ओलीले बैठक टार्दै आएको बताउँछन्, राजनीतिक विश्लेषक कृष्ण पोखरेल ।
पार्टीभित्र आफ्नो हातमाथि पर्ने सुनिश्चितता नभएसम्म ओलीले बैठक टार्दै रहने सम्भावना प्रवल बन्दै गएको छ ।
सचिवालय बैठकमा आफ्नो बहुमत नपुगेसम्म एमसीसीमाथि छलफल गर्दा एमसीसी अघि नबढ्ने भएकाले प्रधानमन्त्री ओलीले जानाजान अलमल गरेकोमा शंका छैन ।
तर, पार्टीका अन्य नेताहरु पनि निरीह बनेर बसिरहनुलाई भने अनौठो मानिएको छ ।









प्रतिक्रिया दिनुहोस्