काठमाडौं, जेठ २९ । देशमा बढ्दो हत्या र आत्महत्याको विषयमा राष्ट्रियसभाका सांसदहरुले चासो देखाएका छन् ।
राष्ट्रियसभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले त्यस्ता घटनाहरुको छानबिन गर्न माग गरेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद तारादेवी भट्टले हत्या र आत्महत्याका घटनाहरुमा अनुसन्धान प्रभावकारी हुन नसकेको बताइन् ।
कांग्रेसकै अर्का सांसद अनिता देवकोटाले रुकुममा नवराज विकको हत्याको घटना सेलाउन नपाउँदै सप्तरीमा एकजना माहिलालाई बोक्सीको आरोपमा कुटपिट गरिएको भन्दै स्थानीय तहले उजुरी दर्ता गर्न नदिएको गुनासो गरिन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद चक्रप्रसाद स्नेहीले अछाममा रोजगारी गुमाएर आत्मदाह गरेका व्यक्तिका परिवारलाई क्षतिपूर्तिको माग गरे ।
रुपन्देहीको पशु फार्ममा भएको सामूहिक हत्याको पनि निष्पक्ष छानबिन गर्न उनले माग गरे ।
नेकपा सांसद उदया शर्मा पोडेलले निजी क्षेत्रका श्रमिक, करार सेवाका कर्मचारी, निजी स्रोतका शिक्षकहरुलगायतको रोजगारी खोसिएको भन्दै त्यसलाई रोक्न माग गरिन् ।
सांसद कोमल ओलीले २०७४ मंसिर ८ गतेको मन्त्रिपरिषद्को बैठकअनुसार त्रिभुवन विश्वविद्यालयमा आंशिक प्राध्यापकहरुलाई करार नबनाइएको विषयमा शिक्षा मन्त्रालयलाई स्पस्ट गर्न माग गरिन् ।









प्रतिक्रिया दिनुहोस्