काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फको सूची निर्वाचन आयोगलाई बुझाएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठकले प्रदेश र प्रतिनिधिसभाको समानुपातिकतर्फको प्रारम्भिक सूचीलाई अन्तिम रूप दिएर आयोगमा बुझाएको हो।
पार्टी सहमहामन्त्रीसहित सम्बन्धित प्रदेशका नेताहरूको फरकफरक बैठकले प्रदेशको समानुपातिकतर्फको पहिलो सूची बनाएर आयोगमा बुझाएको छ। प्रतिनिधिसभातर्फको १ सय १० जनाको समानुपातिक सूचीका लागि पनि कांग्रेसले प्रदेशअनुसारै भाग मिलाएर पहिलो सूची आयोगमा बुझाएको हो। कांग्रेसले बुझाएको समानुपातिकतर्फको सूचीमा पार्टीका पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि, गोपालमान श्रेष्ठसहित नेता समेटिएका छन्।
निधिले यसअघि नै प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने जनाउँदै गृहजिल्ला धनुषाबाट समानुपातिकतर्फ आफ्नो नाम सिफारिस गराएका थिए। श्रेष्ठले भने स्याङ्जाबाट प्रत्यक्षतर्फकै उम्मेदवार बन्ने दाबी गर्दै आएका थिए। निधिलाई मधेसीतर्फको पहिलो नम्बरमा र श्रेष्ठलाई जनजाति समूहको सिरानमा नाम राखेर कांग्रेसले सूची बुझाएको हो। त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा पनि समानुपातिकतर्फको उम्मेदवार बनेकी छन्।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्